नेपाल एक कृषिप्रधान मुलुक हो । जहाँ झन्डै ६० प्रतिशत जनसंख्या कृषिमा आश्रित छ । तर, पछिल्लो समय व्यावसायिक कृषिको नाममा रासायनिक विषादीको अनियन्त्रित प्रयोगले मानव स्वास्थ्य र वातावरणमा गम्भीर सङ्कट निम्त्याएको छ । तरकारीलाई छिटो बढाउन, किराबाट जोगाउन र आकर्षक देखाउन प्रयोग गरिने कडा विषादीहरू नेपालीको भान्सासम्म पुगिरहेका छन् । यसले दीर्घकालीन रोगहरू मात्र नभइ भावी पुस्ताको स्वास्थ्यमा समेत खेलबाड गरिरहेको छ । मुलुकमा तरकारी खेती व्यावसायिक रूपमा निकै विस्तार भएको छ । यसमा खासगरीकन काठमाडौँ, पोखरा, बुटवल, विराटनगर, नेपालगञ्ज जस्ता ठूला बजारहरूमा दैनिक हजारौँ टन तरकारी खपत हुन्छ । तर यही तरकारीमा अत्यधिक र अनियन्त्रित विषादी प्रयोगको समस्या निकै गम्भीर बनेको छ । यसमा पनि विभिन्न अध्ययन तथा प्रयोगशाला परीक्षणहरूले देखाएअनुसार कालीमाटी, थोक बजारहरूमा आएका हरियो सागपात, टमाटर, काँक्रा, फर्सी, बन्दा, काउली, खुर्सानी, ब्रोकाउली लगायतका तरकारीहरूमा प्रायः बढी भन्दा धेरै गुणा बढी विषादी अवशेष पाइने गरेको छ । यो अवस्था उपभोक्ताको स्वास्थ्यका लागि मात्र होइन, किसानहरूको स्वास्थ्य, माटोको उर्वराशक्ति, जैविक विविधता र समग्र वातावरणका लागि पनि ठूलो चुनौती बनेको छ ।
हाम्रो देशमा जनसङ्ख्याको ठूलो हिस्सा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कृषि पेशामा आश्रित छ । तर पछिल्ला वर्षहरूमा नेपाली कृषि क्षेत्र, विशेषतः तरकारी उत्पादन प्रणाली, गम्भीर चुनौतीको सामना गरिरहेको छ । ती चुनौतीमध्ये सबैभन्दा गम्भीर र संवेदनशील विषय हो । यसमा पनि विषादीयुक्त तरकारीको बढ्दो समस्या रहेको छ । यसर्थ बजारमा बिक्री हुने धेरै तरकारीमा मानव स्वास्थ्यका लागि घातक हुने खालका विषादी (रासायनिक कीटनाशक तथा मल)को अत्यधिक प्रयोग हुने गरेको तथ्य विभिन्न अध्ययन र परीक्षणहरूले पुष्टि गरेका छन् । यसरी भन्ने नै हो भने एकातिर बढ्दो जनसङ्ख्या, सहरीकरण र खाद्यान्नको माग, अर्कोतिर कृषकको उत्पादन बढाउने बाध्यता यी दुवै कारणले विषादीको अनियन्त्रित प्रयोगलाई प्रोत्साहन दिएको छ । यसले केवल उपभोक्ताको स्वास्थ्य मात्र होइन, माटो, पानी, वातावरण र सम्पूर्ण जैविक प्रणालीलाई नै दीर्घकालीन असर पुर्याइरहेको छ ।
विषादी भन्नाले बालीमा लाग्ने किराफट्याङ्ग्रा, रोग तथा झारपात नियन्त्रण गर्न प्रयोग गरिने रासायनिक पदार्थहरूलाई बुझिन्छ । सामान्यतया विषादीलाई तीन वर्गमा विभाजन गर्न सकिन्छ । जसमा कीटनाशक, रोगनाशक र झारनाशक हुन् । यी पदार्थहरू सही मात्रा, सही समय र सही तरिकाले प्रयोग भएमा उत्पादन वृद्धि र रोग नियन्त्रणमा सहयोगी हुन सक्छन् । तर नेपालमा यसको दुरूपयोग व्यापक रूपमा भइरहेको छ । फलतः मुलुकमा विषादी प्रयोगको इतिहास धेरै पुरानो छैन् । २०२० सालपछि मात्र आधुनिक रासायनिक विषादीको प्रयोग सुरु भएको मानिन्छ । तर पछिल्ला दुई–तीन दशकमा यसको प्रयोग अत्यधिक बढेको छ । विशेषतः तरकारी खेतीमा जस्तै गोलभेंडा, काउली, बन्दागोभी, भिण्डी, करेला, सिमी, धनियाँ, खुर्सानी आदिमा विषादीको प्रयोग अत्यधिक हुने गरेको पाइन्छ । यसमा कृषि मन्त्रालय तथा विभिन्न अनुसन्धान संस्थाका अनुसार नेपालमा प्रयोग हुने विषादीमध्ये ठूलो हिस्सा आयातित हो । तीमध्ये धेरै विषादीहरू अन्तर्राष्ट्रिय मापदण्डअनुसार खतरनाक श्रेणीमा पर्छन् । जसको प्रयोग विकसित मुलुकहरूमा प्रतिबन्धित भइसकेको छ ।
नेपालमा वार्षिक रूपमा करिब छ सयदेखि आठ सयटन प्राविधिक ग्रेडका विषादीहरू आयात हुने गरेका छन् । तीमध्ये ८० प्रतिशतभन्दा बढी विषादी तरकारी खेतीमा मात्रै प्रयोग हुन्छ । विशेषगरी काठमाडौँ, पोखरा र बुटवलजस्ता ठूला सहर नजिकका पकेट क्षेत्रहरूमा विषादीको प्रयोग अत्यधिक छ । यसमा पनि पर्खनुपर्ने अवधिको पालना नगरी तरकारी बजारमा पठाउनाले उपभोक्ताहरू प्रत्यक्ष रूपमा विष सेवन गर्न बाध्य छन् । फलतः तरकारी खेतीमा प्रति हेक्टर औसत एक हजार छ सय ग्रामभन्दा बढी विषादी प्रयोग हुने गरेको विभिन्न अध्ययनले देखाएका छन् । यो मात्रा विश्व औसतभन्दा निकै उच्च हो । विशेष गरी भारतबाट आयात हुने सस्तो र प्रतिबन्धित विषादीहरू (जस्तै क्लोरपाइरिफस, प्रोफेनोफोस, डाइक्लोरोभस, ट्राइजोफस आदि) नेपाली बजारमा खुलेआम बिक्री हुन्छन् । तसर्थ देशको विभिन्न स्थानहरूको तथ्याङ्क हेर्दा कालीमाटी प्रयोगशालाका पुराना रिपोर्टहरूमा ४० देखि ७० प्रतिशत नमुनामा मापदण्डभन्दा बढी अवशेष पाइएको थियो । वस्तुतः कालिमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याइएको हरियो रायो सागमा ९९ दशमलव ८ प्रतिशत अर्गानोफस्फेट विषादी भेटिएको छ ।
केन्द्रीय कृषि प्रयोगशालाले परीक्षण गरेका १५ थरी तरकारीमध्ये रायो साग पूर्ण रूपमा खान अयोग्य ठहरियो । यसअघि हरियो धनियाँमा पनि त्यस्तै विषादी भेटिएको थियो । त्यसरी नै काँक्रोमा पनि ४६ दशमलव ५ प्रतिशत विषादी फेला परेको छ । सरकारी मापदण्डअनुसार ३५ प्रतिशतभन्दा कम विषादी प्रयोग भएको भए उपभोगयोग्य मानिन्छ । तर तरकारी बजारमा अत्यधिक विषादीयुक्त तरकारी भेटिनु हाम्रो स्वास्थ्यका लागि गम्भीर चिन्ताको विषय हो । जुन तरकारीमा भेटिएका अर्गानोफस्फेट र कार्बामेट समूहका विषादीले स्नायु प्रणालीमा सिधा असर गर्ने मानिन्छन् । यस्ता विषादी मिसिएका तरकारी नियमित रूपमा खाँदा टाउको दुख्ने, वाकवाकी लाग्ने, पेट दुख्ने, झाडापखाला हुने समस्या देखिन सक्छ । जसलाई भन्ने नै हो भने दीर्घकालीन रूपमा कलेजो, मिर्गौला र स्नायु प्रणालीमा क्षति पुग्ने जोखिम बढ्ने चिकित्सकहरू बताउँछन् । यसरी बालबालिका, गर्भवती महिला र वृद्धहरू अझ बढी जोखिममा छन् । जबकी किसानले विषादी छरेपछि छ घण्टादेखि २४ घण्टासम्म कुर्नुपर्ने वेटिङ पिरियड पालना नगर्दा विष सिधै भान्सामा पुगिरहेको छ । यसर्थ साँझ विषादी छरेर बिहान तरकारी टिपेर बेच्ने गलत अभ्यासले अस्वस्थ तरकारीको समस्या बढ्दो छ । यसमा पनि भन्ने नै हो भने देशमा एक सय ६४ प्रकारका विषादी प्रयोग गर्न अनुमति सम्बन्धित निकायहरूले दिएको छ । त्यस्तैगरी सन् २०२३–२०२४ मा केही क्षेत्र जस्तै पाँचखालमा आईपीएम अभ्यास गरेका खेतमा ८५ प्रतिशत नमुनामा शून्य वा निकै कम अवशेष देखिएको छ । तर अधिकांश व्यावसायिक क्षेत्रमा अझै पनि अवशेष उच्च नै छ । यसर्थ सन् २०२५ मा पनि यो समस्या उस्तै छ, किनकि प्रतिबन्धित विषादीको कारोबार अझै रोकिएको छैन र प्रभावकारी अनुगमन तथा कार्यान्वयन कमजोर छ ।
विषादीयुक्त तरकारीको प्रमुख चुनौतीहरूमा जनस्वास्थ्यमा गम्भीर असर पर्ने हुन्छ । यस विषादीयुक्त तरकारीको सबैभन्दा ठूलो असर मानव स्वास्थ्यमा पर्छ । जसलेगर्दा लामो समयसम्म विषादीयुक्त खाद्य पदार्थ सेवन गर्दा निम्न समस्याहरू देखिन सक्छन् । यसमा क्यान्सर, मिर्गौला र कलेजो खराब हुने, स्नायु प्रणालीमा असर, गर्भवती महिलामा गर्भपतन वा अपाङ्ग बच्चा जन्मिने जोखिम, बालबालिकामा बौद्धिक विकासमा कमी आदि रहेका छन् । त्यसरी नै देशमा क्यान्सर, मधुमेह, मुटुरोग जस्ता दीर्घरोग बढ्दै जानुमा विषादीयुक्त खानाको पनि ठूलो भूमिका रहेको विज्ञहरू बताउँछन् । दोस्रो कारणमा कृषक स्वयं जोखिममा पर्छन । विषादी प्रयोग गर्ने कृषक स्वयं पनि जोखिममा छन् । धेरै कृषकले सुरक्षा सामाग्री (मास्क, पञ्जा, बुट) प्रयोग नगरी विषादी छर्कने गर्छन् । यसले गर्दा छालामा एलर्जी, आँखा पोल्ने, सास फेर्न गाह्रो हुने, दीर्घकालीन रोग लाग्ने जोखिम बढेको छ । तेस्रो चुनौतीमा वातावरणीय क्षति पनि हो । कृषकवर्गले अत्यधिक विषादी प्रयोगले माटोको उर्वराशक्ति घटाउँछ । जसमा भन्ने नै हो भने उपयोगी कीरा, मौरी, भ्यागुता, चराचुरुङ्गी नष्ट हुन्छन् । यसको साथै पानीका मुहानहरू विषाक्त बन्छन् । यसले सम्पूर्ण पारिस्थितिक सन्तुलन बिगारिरहेको छ । यसको चौथो कारण भनेको उपभोक्ताको विश्वासमा सङ्कट उत्पन्न हुन्छ । जसलेगर्दा बजारमा पाइने तरकारी सुरक्षित छ कि छैन भन्ने शङ्का उपभोक्तामा बढ्दो छ । तरकारी खानै नहुने अवस्था आयो भन्ने जनगुनासो व्यापक छ । यसले स्वदेशी कृषि उत्पादनप्रतिको विश्वास घटाएको छ । र पाँचौँमा तरकारी खेतीमा सरकारी तवरबाट हुने नियमन र अनुगमनको कमजोरीको कारण पनि हो । तसर्थ राष्ट्रमा विषादीको आयात, बिक्री र प्रयोगमा प्रभावकारी नियमन छैन । जबसम्म बजार अनुगमन हुँदैन तबसम्म यो समस्या रहिरहन्छ र तरकारी व्यवसायीहरूको मनोभावनालाई पनि यसले कमजोर बनाउछ । जसलेगर्दा प्रयोगशाला परीक्षण सीमित रहेका छन् । यसलाई रोकथाम गर्ने कानुन भए पनि कार्यान्वयन कमजोर छ ।
समग्रमा भन्नुपर्दा विषादीयुक्त तरकारी आजको प्रमुख जनस्वास्थ्य चुनौती हो । तरकारीमा विषादी हाल्नु भनेको विस्तारै समाजलाई नै रोगी बनाउनु हो । त्यसैले, विषादी होइन, विकल्प रोजौ भन्ने नारालाई आत्मसात् गर्दै सरकारले नीतिगत कडाइ, किसानले इमानदारिता र उपभोक्ताले सचेतना अपनाउनु नै यसको दिगो समाधान हो । मूलतः स्वच्छ खानपान नै स्वस्थ जीवनको आधार हो भन्ने कुरामा कसैको दुई मत हुनु हुँदैन ।