कास्की । कास्की प्रहरीले गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातयात विकास मन्त्रीलाई उन्मुक्ति दिएर निर्माण व्यावसायीलाई मात्रै झूटो मुद्दामा फसाएको खुलासा भएको छ । विवादास्पद डीआईजी दिनेश आचार्यको निर्देशनमा मन्त्री प्रकाश केसीलाई उन्मुक्ति दिएर निर्माण व्यावसायी युवराज खतिवडालाई झूटो मुद्दामा फसाएको पाइएको हो ।
गोरखाका माइलो भनिने वेदप्रसाद काप्रीमार्फत क्यासिनो क्षेत्रमा अवैध धन्दा समेत गर्दै आएका डीआईजी आचार्यले कास्कीमा समेत एक क्यासिनोका बाउन्सरलाई झूटो मुद्दामा फसाएर बार्गेनिङ समेत गरेको खुलेको छ ।
क्यासिनो खेल्न पुगेका डीआईजी आचार्यलाई असहयोग गरेको भन्दै क्यासिनोको बाउन्सरलाई अभद्र व्यवहारको झूटो मुद्दा लगाएको पाइएको छ ।
डीआईजी आचार्यकै निर्देशनमा पोखरा क्षेत्रमा निर्माण व्यावसायको काम गर्दै आएका वाई यु के कन्स्ट्रक्सन नामक कम्पनीका सञ्चालक युवराज खतिवडालाई अभद्र व्यवहार गरेको भन्दै झूटो मुद्दामा थुनामा राखेर बार्गेनिङ गरिरहँदा पनि तालकुदार निकायको रहस्यमयी मौनता छ ।
सुशासनको पक्षमा भएको आन्दोलनपछि बनेको गृह प्रशासन समेत यस्ता बद्नाम र गैरकानुनी थुनामा राख्ने प्रहरी अधिकृतमाथि कुनै एक्सनमा उत्रिएका छैनन् ।
गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातयात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीसँगको व्यापारिक सम्झौताको आधारमा खतिवडाले केसीको नाममा रहेको पोखराको फेवातालबाट निकै पर रहेको पामे क्षेत्रमा रहेको आवास क्षेत्रमा माटो पुर्ने कार्य गरेका थिए ।
सोही ग्रावेल लिएर जाँदै गरेको अवस्थामा प्रहरीले खतिवडाको स्वामित्व रहेको वाइयुके कन्स्ट्रक्सनका टिफरले बोकेर आइरहेको ग्राबेललाई रोकेको थियो ।
त्यति नै बेला उनले यो ग्राबेललाई प्रहरीले अवरोध गर्न पाउँदैन भनेर प्रश्न गरेको विषयलाई अभद्र व्यवहार गरेको भन्दै वडा प्रहरी कार्यालय बैदामको टोलीले उनलाई पक्राउ गरेको थियो । तर माटो पुर्ने ठेक्का दिने व्यक्तिलाई भने मेयर धनराज आचार्य र डीआईजी आचार्यले संरक्षण गर्दै आएका छन् ।
जब कि केही दिनअघि महानगरले आयोजना गरेको छलफलमा भने केसीलाई समेत कारबाही गर्नुपर्ने जोडदार माग उठेको थियो ।
मेयर आचार्यले मन्त्री केसीकै जग्गा हो भने केसीलाई पनि कराबाही हुनुपर्छ भन्दै अभिव्यक्ति दिएको भिडियो अहिले सामाजिक सञ्जालमा समेत व्यप्त छ । ‘जग्गा उहाँकै नाममा छ । बैना दिएको भनेर स्पष्ट भन्नु पर्यो,’ कार्यक्रममा मेयर आचार्यले भनेका छन्, ‘यदि मन्त्रीको जग्गा हो भने उहाँलाई पनि कारबाही हुनु पर्छ । मुद्दा लगाउनुपर्छ । हेरौँ एसपी साप । माटो पुर्नेलाई मात्रै होइन पुर्न दिनेलाई पनि कारबाही गर्छौं ।’ तर, उनले यसो भनेको हप्ता दिनसम्म पनि मन्त्री केसी पक्राउ परेका छैनन् ।
तर, मन्त्री केसीले नै दिएको ठेक्काको आधारमा केसीकै निजी जग्गा पुरेको अभियोगमा खतिवडालाई भने विगत १० दिनदेखि हिरासतमा राखेर बार्गेनिङ गरिँदैछ ।
कास्कीमा लामो समयदेखि पत्रकारिता गर्दै आएका पत्रकार राजेन्द्र अधिकारीका अनुसार मेयर आचार्यले फेवातालको नाममा राजनीति गरिरहेका छन् । ‘४÷५ वर्षदेखि योजनाबद्ध ढंगले पाँचतारे होटल बनाउनका लागि सेदी डाँडा कटान गरेर फेवातालको सिमसार क्षेत्र पुरिंदै गर्दा सयौं पटक फोन गरेर, जानकारी गराउँदा पनि मेयरज्यूले कानमा तेल हालेर बस्नुभयो । काम पूरै सकिएपछि मात्र अचानक एक्सन मोडमा उत्रनुभएको छ ! निर्माण सम्पन्नको प्रमाणपत्र दिइसक्नुभयो कि बाँकी नै छ मेयरज्यू ?’, उनले भने, ‘फेवाताल हाम्रो पोखराको मुटु हो, पर्यटनको जीवनरेखा हो । यो सिमसार क्षेत्र पुर्दा तालको अस्तित्व नै संकटमा पर्छ, जैविक विविधता नष्ट हुन्छ, बाढीको जोखिम बढ्छ ।
तर स्थानीय जनताको पुस्तौँदेखिको लालपुर्जा भएको सम्पत्तिको पनि त उचित सम्बोधन राज्यले गर्नुपर्ने होइन र ? कि अधिग्रहण गर्न पर्यो, कि कति क्षेत्र सिमसार हो छुट्याउन पर्यो ?
फेवातालको सिरानमा क्रसर उद्योगलाई सेटिङमा ठेक्का दिने, जसको खेत र जमिन हो उसले उचित मुआब्जा वा भोगचलन गर्न नपाउने ? बस्नुस्, सिमसार क्षेत्रका जग्गाधनीहरुसँग, छलफल गर्नुस्, कृषि क्षेत्र, आवास क्षेत्र, सिमसार कुन कुन हो छुट्याउनुहोस् । स्थानीय जनतालाई लुटेराको व्यवहार नगर प्रमुख भएर नगर्नुहोस् ।’
मेयर आचार्यले होटल बाराहीमा बसेर आर्थिक सेटिङ गर्ने गरेको समेत पत्रकार अधिकारीको दाबी छ । ‘मेयरज्यू, होटल बाराहीमा बसेर आर्थिक लेनदेनको सेटिङ गर्नुहुन्छ ।
के तपाईलाई त्यहीं होटलका मालिकले सेदी डाँडा कटान गरेर सिमसार क्षेत्र ४÷५ वर्षदेखि पुरेको थाहा थिएन र ? तपाईँलाई यो सब थाहा हुँदाहुँदै पनि वर्षौँसम्म मौन बस्नुभयो ।
उता बाराही ग्रुपको डाँडा काट्ने काम लगभग सक्कियो, अनि मणिपालको राजश्व सेटिङ काण्ड छोप्न फेवातालको नाम जोडेर जनताको ध्यान मोड्ने पुरानो शैली अपनाउनुभएको छ, यो खेदजनक छ’, उनले भने, ‘अलिकति लाजशरम बाँकी छ भने महानगरपालिकाकै अगाडिको सडकमा ६ महिनादेखि रड र निर्माण सामग्री थुपारेर बटुवा र सवारीलाई हैरान पार्नेहरुलाई कारबाही किन गर्नुभएन ?
फुटपाथमा साना व्यापारीलाई नगरप्रहरी लगाएर खेद्ने, तर ठूलाठूला ठगहरुलाई संरक्षण दिने ? यो नगरपालिका संगठित अपराधको अखडा बन्दैछ !’
कास्की प्रहरीका प्रमुख नविन कार्कीले खतिवडालाई पक्राउ गरेपछि मात्रै कानुनको कुरा खोजी गरेको बताएका छन् । जबकी प्रहरीले कुनै पनि अभियुक्तलाई पक्राउ गर्नुअघि नै कुन अपराधमा कुन कानुन अनुसार भनि निक्र्यौल गरि अदालतबाट पक्राउ अनुमति लिएर पक्राउ गर्नुपर्छ ।
उनले कानुन बिना नै खतिवडालाई पक्राउ गरिएको सार्वजनिक कार्यक्रममै बताएका छन् । पोखरा महानगरका मेयर धनराज आचार्यका भाई खगराज आचार्यले फेवातालका विभिन्न स्थानमा सिमसार र ताल पुर्ने काम गर्दै आएका छन् । उनीमाथि पनि प्रहरीले कुनै कारबाही गरेको छैन ।