काठमाडौँ । नेपाल पर्यटन बोर्डले ‘नेपाल–आसियान पर्यटन वर्ष २०२६’ मनाउने औपचारिक घोषणा गरेको छ । आफ्नो २७औँ स्थापना दिवसको अवसरमा उक्त घोषणा गरिएको हो ।
कार्यक्रममा बोर्डका कार्यकारी प्रमुख अधिकृत दीपकराज जोशीले आसियान मुलुकलाई नेपालका लागि उच्च सम्भावनायुक्त बजारका रूपमा प्रस्तुत गर्दै सन् २०२६ लाई लक्षित विशेष रणनीति सार्वजनिक गरे । सीईओ जोशीका अनुसार हालसम्म एक लाख सात हजारभन्दा बढी आसियान मुलुकका पर्यटक नेपाल भित्रिसकेका छन्, जुन नेपालका लागि ठूलो र दीर्घकालीन बजार हो । बौद्ध तथा आध्यात्मिक पर्यटन, प्रकृति र साहसिक पर्यटन, वेलनेस र आयुर्वेद, संस्कृति तथा समुदायमा आधारित पर्यटनमार्फत आसियान बजारमा नेपाललाई सशक्त रूपमा स्थापित गरिने उनले बताए । सीईओ जोशीले सन् २०२५ मा ११ लाख ६० हजार पर्यटक नेपाल भित्रिने अनुमान गरिएको जानकारी दिँदै यो सङ्ख्या गत वर्षको तुलनामा करिब तीन प्रतिशतले वृद्धि भएको बताए । उनका अनुसार सन् २०२५ भित्र ३१ वटा टुरिजम मार्ट, १२ वटा ब्रान्डिङ तथा कर्पोरेट गतिविधि, २० भन्दा बढी माइस कार्यक्रम सम्पन्न भएका छन् ।
उनले जेन–जी आन्दोलनपछिको अवधिमा ८ वटा मुख्य पर्यटकीय गन्तव्यबाट लाइभ प्रसारणमार्फत पर्यटन प्रबर्द्धन, नौ भाषामा यात्रा सूचना प्रकाशन, ६९ वटा पर्यटन पूर्वाधार विकास, तथा पूर्वदेखि सुदूरपश्चिमसम्म ४१ वटा कार्यक्रम तथा विकास गतिविधि सञ्चालन गरिएको जानकारीसमेत दिए । पर्यटन केवल एउटा कोर सेक्टर मात्र नभएर बहु–क्रस सेक्टर क्षेत्र भएको उनले बताए । बोर्डले सन् २०२६ लाई परिभाषित गर्ने सात प्रमुख यात्रा प्रवृत्ति पनि सार्वजनिक गरेको छ । यसमा– शोरभन्दा शान्ति, प्रशासनमा जेन–एआई, छनोटभन्दा विश्वास, हवाईमार्गभन्दा सडक, एकै ढाँचाभन्दा अत्यधिक व्यक्तिगत अनुभव, परीक्षण गरिएकाभन्दा अफ–ग्रिड गन्तव्य र संस्कृति प्राथमिकतामा रहने उल्लेख छ ।
कार्यक्रममा संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिल कुमार सिन्हाले अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रबर्द्धनका माध्यमबाट मुलुकको छविलाई उचो बनाउन बोर्डले महत्वपूर्ण भूमिका खेलेको बताए । सीमित बजेट र स्रोतका बाबजुद पर्यटन बोर्डले गरेको उल्लेखनीय योगदान हासिल गरेको उनको भनाइ छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले नेपाल केवल गन्तव्य मात्र नभएर अनुभव संग्रह गर्ने, प्रकृतीमा रमाएर सांस्कृतिक विविधता अवलोकन गर्ने विशिष्ट मुलुक भएको बताइन् ।
नेपाल पर्यटन बोर्डका अध्यक्षसमेत रहेका पर्यटन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले नेपालको पर्यटन प्रबर्द्धनात्मक गतिविधि निर्वाध अघि बढाउन आएका कानुनी तथा नीतिगत झन्झटहरू फुकाउन आफू तयार रहेको बताए । प्रविधिको उच्चतम प्रयोग र जनशक्ति व्यवस्थापन गर्दै बोर्डले नेपाललाई अन्तर्राष्ट्रिय बजारमा बजारीकरण गर्न आउने समस्या समाधानका लागि बोर्ड तयार रहेको उनको भनाइ छ । कार्यक्रममा पाटा सीईओ नुर अहमद हमिद, वर्ल्ड टुरिजम नेटवर्क र यूएन टुरिजमबाट भिडियो सन्देश जारी गरिएको थियो । त्यसैगरी कार्यक्रमका अवसरमा बोर्डको वार्षिक प्रकाशन इन–फोकस पनि विमोचन गरिएको छ । कार्यक्रममा सातवटै प्रदेशका नृत्य तथा झाँकीहरू प्रस्तुत गरिएको थियो ।