काठमाडौं । सालपा विकास बैंक लिमिटेडले साधारण सेयरको बिक्री खुल्ला गरेको छ । पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूको लागि साधारण जारी गरी बाँडफाँटसमेत गरिसकेको बैंकले दोस्रो चरणमा यही पुस १६ गते बुधबारबाट सर्वसाधारणका लागि साधारण सेयरको बिक्री खुल्ला गरेको हो ।
बैंकले आम सर्वसाधारणलाई एक सय रुपैयाँ अङ्कित दरमा १४ करोड ३९ लाख १७ हजार नौ सय रुपैयाँ बराबरको १४ लाख ३९ हजार एक सय ७९ कित्ता साधारण सेयरको बिक्री खुल्ला गरेको हो । सालपालाई नेपाल धितोपत्र बोर्डले जारी पुँजी ५२ करोड २३ लाख ८८ हजारको ३३ प्रतिशत अर्थात् १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको एक सय रुपैयाँ अङ्कित दरको १७ लाख २३ हजार आठ सय ८० कित्ता साधारण सेयर जारी गर्नको लागि अनुमती दिएको थियो ।
सोमध्ये एक करोड ७२ लाख ३० हजार आठ सय रुपैयाँ बराबरको एक लाख ७२ हजार तीन सय ८८ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरूलाई बिक्री गरेको सेयर बाँडफाँट गरिसकेको छ । यसैगरी ८६ हजार एक सय ९४ कित्ता सामूहिक लगानी कोष, २६ हजार एक सय १९ कित्ता साधारण सेयर कम्पनीका कर्मचारीका लागि छुट्याएको छ ।
सोपश्चात् बाँकी रहेको १४ लाख ३९ हजार एक सय ७९ कित्ता साधारण सेयर सर्वसाधारणलाई बिक्री गरिएको हो । यसमा पुस २० गतेसम्म आवेदन दिने सकिने छ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । बैंकको साधारण सेयरको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।