इस्लामाबाद । पाकिस्तान तेहरिक–ए–इन्साफ (पिटिआई) का संस्थापक नेता र पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको परिवार र पार्टी नेताहरूलाई अडियाला जेलमा भेट्न रोकिएपछि विरोधमा जेलबाहिर व्यापक धर्ना र विरोध प्रदर्शन भएको छ ।
एएफपीका अनुसार इस्लामावाद उच्च अदालतले मार्च २४ मा जारी गरेको आदेशका बाबजुद नेता खानलाई भेटमा रोक लगाइएपछि उनका समर्थकद्वारा विरोध गर्दै जेलबाहिर धर्ना दिएका हुन् ।
आदेशमा मंगलबार र बिहीबार गरी हप्तामा दुई पटक भेट्न दिने आदेश उच्च अदालतले दिएको थियो । पीटीआईले बारम्बार अदालतको निर्देशन कार्यान्वयन नभएको बताउँदै आएको छ र पार्टी संस्थापकलाई पहुँचको माग गर्दै जेल बाहिर धर्ना दिएको छ । प्रशासनले धर्नामा बसेका केहीलाई बुधबार पानीको फोहोरा प्रयोग गरेर तितरवितर गरेको छ ।
मिडियासँग कुरा गर्दै पूर्वप्रधानमन्त्री खानकी दिदी अलीमा खानले आफूहरूले विरोध प्रदर्शन जारी राख्ने र धर्नास्थल नछोड्ने बताएकी छिन् । उनले परिवारलाई इमरानसँग भेट्न अस्वीकार गरेकोमा अधिकारीहरूको आलोचना गर्दै प्रशासनको अप्रजातान्त्रिक र अमानवीय कार्यमाथि प्रश्न उठाएकी छिन् । अलीमाले भने, ‘जनताको समर्थन भीडको आकारले मापन गर्नु हुँदैन ।’
यसैबीच, पिटिआईका अध्यक्ष ब्यारिस्टर गोहर अली खानले अदालतको आदेशका बाबजुद इमरानसँग भेटघाट गर्न अस्वीकार गरिएकोमा चिन्ता व्यक्त गर्नुभएको छ । उनले राजनीतिक दलले आफ्नै अध्यक्षलाई भेट्न अनुमति लिनुपर्ने अवस्था दुर्भाग्यपूर्ण भएको बताए । सरकारसँगको वार्ताको प्रश्नमा गोहरले वार्ता हुन सक्ने तर वार्तासँगै विरोध आन्दोलनको तयारी जारी रहने कुरामा जोड दिए ।
उनले भने, ‘वार्ता गर्नु अहिलेको आवश्यकता हो, तर सरकारका कारण यो संभव देखिएको छैन ।’ उनले आफूहरू पार्टी नेतालाई भेट्न जाँदा हरेक हप्ता जेल बाहिर उभिनु पर्ने बाध्यतालाई ‘अनुचित’ कार्य भनेका छन् । गोहरले देशको सार्वभौमिकताका लागि बाह्य शत्रुसँग युद्धविरामको घोषणा गरिएको तर देशभित्र राजनीतिक तनाव जारी रहेको बताए ।
पिटिआईका महासचिव सलमान अकरम राजाले कैदीहरूलाई आफ्ना परिवारका सदस्यहरूसँग भेट्न पाउनु मौलिक मानव अधिकार भएको बताउँदै इमरानलाई ‘एकान्त कारावास’ मा राखिएको आरोप लगाए । पूर्वप्रधानमन्त्री खानलाई सन् २०२३ अगस्टदेखि जेल जीवन बिताउँदै आएका छन् । हाल उनलाई १९ करोड पाउन्डको भ्रष्टाचारको मुद्दामा अडियाला जेलमा सजाय काटिरहेका छन् ।
उनले सन् २०२३ मे ९ को विरोध प्रदर्शनसँग सम्बन्धित आतंकवाद विरोधी ऐन अन्तर्गत पनि मुद्दाको सामना गरिरहेका छन् । पिटिआईले इमरान र उनकी पत्नीको स्वास्थ्यलाई लिएर बारम्बार चिन्ता व्यक्त गर्दै आएको छ । यस महिनाको सुरुमा संयुक्त राष्ट्रसङ्घका एक विशेष प्रतिवेदकले इमरानलाई अमानवीय वा अपमानजनक व्यवहार हुन सक्ने अवस्थामा राखिएको चेतावनी दिएका थिए र पाकिस्तानी अधिकारीहरूलाई अन्तर्राष्ट्रिय मापदण्डहरू पालना गर्न आग्रह गरेका थिए । प्रतिवेदनले आफ्ना संस्थापकमाथि गरिएको अपमानजनक व्यवहारको पर्दाफास गरेको र अन्तर्राष्ट्रिय कानुन र आधारभूत मानवअधिकारको ठाडो उल्लंघन भएको बताएको पिटिआईले दावी गरेको छ ।