काठमाडौं । शेयर बजार परिसुचक नेप्से तथा कारोबार रकम दुबै खुम्चिएको छ । अघिल्लो दिन १० दशमलव ८७ अंकले उकालो लागेको नेप्से परिसुचक साताको अन्तिम कारोबार दिन आज बिहिबार १२ दशमलव ८३ अंकले ओरालो लागेर २६ सय २० दशमलव ९२ बिन्दुमा खुम्चिएको छ ।
यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ४३ अंकले ओरालो लागेर चार सय ५४ दशमलव २९ बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय ३६ वटा कम्पनीहरुको ६४ हजार चार सय सात पटकको कारोबारमा एक करोड एक लाख ५३ हजार दुई सय २६ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम चार अर्ब ७१ करोड ३९ लाख पाँच हजार चार सय ७० रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा अन्य समुहको सुचक शुन्य दशमलव २७ अंकले उकालो लागेपनि बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १२ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।