काठमाडौं । गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलका क्रममा भएको भौतिक क्षतिमा २३ अर्ब ४७ करोड रुपैयाँबराबरको बीमा दाबी गरिए पनि हालसम्मको भुक्तानी पाँच अर्ब ४८ करोड रुपैयाँ मात्र रहेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार बीमा कम्पनीहरूले जेन–जी आन्दोलनका क्रममा भएको क्षतिमा हालसम्म पाँच अर्ब ४८ करोड २५ लाख दाबी रकम भुक्तानी गरेका हुन् ।प्राधिकरणका अनुसार हालैको जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूमा परेका कुल तीन हजार तीन सय १६ वटा बीमा दाबीको करिब २३ अर्ब ४७ करोड दाबी रकममध्ये हालसम्ममा अग्रीम भुक्तानी समेत गरी करिब पाँच अर्ब ४८ करोड २५ लाख दाबी रकम बीमितहरूलाई भुक्तानी गरिएको हो । प्राधिकरणमा १४ वटा निर्जीवन बीमा कम्पनी र चारवटा लघु निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त अद्यावधिक तथ्याङ्कअनुसार, कम्पनीहरूबाट अग्रीम भुक्तानी समेत गरी भुक्तानी भएको कुल दाबी रकममध्ये सम्पत्ति बीमातर्फ कुल सात सय १२ वटा बीमा दाबीको दाबी रकम करिव १९ अर्ब पाँच करोड रुपैयाँमध्ये करिब तीन अर्ब ९३ करोड ५९ लाख र मोटर बीमातर्फ कुल दुई हजार तीन सय २१ वटा बीमा दाबीको दाबी रकम करिब तीन अर्ब ४६ करोड १६ लाखमध्ये करिब एक अर्ब ३९ करोड २५ लाख रुपैयाँ भुक्तानी भएको छ ।
यसैगरी, इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमातर्फ कुल दुई सय २६ वटा बीमा दाबीको करिब ५५ करोड ३९ लाख दाबी रकममध्ये करिब आठ करोड ३६ लाख, परिवहन बीमातर्फ कुल १२ वटा बीमा दाबीको करिब एक करोड ६९ लाख दाबी रकममध्ये करिब एक करोड ५५ लाख र अन्य बीमातर्फ ४५ वटा बीमा दाबीको करिब ३८ करोड ४० लाख रुपैयाँ दाबी रकममध्ये करिब पाँच करोड अग्रीम भुक्तानी समेत गरी दाबी रकम भुक्तानी भएको छ । करिब तीन अर्ब दुई करोड पुनर्बीमा दाबी भुक्तानयसैगरी जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई कुल करिव तीन अर्ब दुई करोड रुपैयाँ अग्रीम भुक्तानीसहित पुनर्बीमा दाबी भुक्तानी गरेको छ । नेपाल पुनर्बीमा कम्पनीमा विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनीहरूबाट परेका कुल दुई हजार आठ सय ६३ वटा पुनर्बीमा दाबीको कुल पुनर्बीमा दाबी रकम करिब १६ अर्ब ६२ करोड ६६ लाख रुपैयाँ रहेको प्राधिकरणको भनाइ छ ।