काठमाडौं, भदौ २२
दोलखाको सदरमुकाम चरीकोटमा कोरोना संक्रमणका बिरामी देखिएपछि भीमेश्वर नगरपालिकामा एक साता निषेधाज्ञा जारी गरिएको छ । आइतबार बिहान थप चार जनामा कोरोना संक्रमण देखिएपछि भीमेश्वर नगरपालिकामा आइतबार मध्याह्न १२ बजेदेखि भदौ २७ गतेसम्मको लागि निषेधाज्ञा जारी गरिएको हो ।
जिल्ला संकट व्यवस्थापन समितिको आइतबार बिहान बसेको बैठकले भीमेश्वर नगरपालिकाभर भदौ २७ गते मध्यरातिसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । भीमेश्वर नगरपालिकाबाट तीन दिनअघि नमूना परीक्षणको लागि पठाएको १२ जनाको स्वाबमध्ये दुई महिला र दुई पुरुष गरी चार जनामा आइतबार कोरोना संक्रमण भेटिएपछि आवश्यक सतर्कताको लागि निषेधाज्ञा जारी गरिएको दोलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताए ।
दुई वर्षीय बालकदेखि प्राथमिक स्वास्थ्य केन्द्र चरीकोटका एक डाक्टर समेतलाई कोरोना संक्रमण देखिएको छ । जिल्लाभित्रका सम्पूर्ण शैक्षिक संस्था तथा विद्यालयहरु, सबै प्रकारका भेला तथा समारोह, मन्दिरको नित्यपूजा बाहेकका दर्शनार्थीहरु, सैलुन तथा ब्युटिपार्लरहरु निषेध गरिएको प्रजिअ शर्माले जानकारी दिए । त्यसैगरी गत भदौ १५ गतेदेखि सिंगटीमा जारी निषेधाज्ञा भदौ २२ गते सोमबारबाट हटाइएको छ ।