काठमाडौं ।शुक्रवार राति काठमाण्डूबाट भद्रपुरका लागि उडेको बुद्ध एअरको एउटा जहाज अवतरणका क्रममा धावनमार्ग बाहिर गएर दुर्घटनाग्रस्त हुँदा "सम्भावित एउटा ठूलो विपद् टरेको" तर त्यसले घटनाको कारणबारे केही महत्त्वपूर्ण सवाल उठाएको उड्डयन अधिकारी तथा विज्ञहरूले बताएका छन्।सो विमानमा सवार ५१ जना यात्रु र चारजना चालक दलका सदस्यमध्ये केही सामान्य घाइते भएको र तीसमेत सामान्य उपचारपश्चात् घर फर्किसकेको बुद्ध एअरले जनाएको छ।
सो घटनाको विस्तृत छानबिनका लागि नागरिक उड्डयन प्राधिकरणलाई पूर्ण रूपमा सघाउने बुद्ध एअरले जनाएको छ।१,५०० मिटर लामो धावनमार्ग रहेकामा दुर्घटना एउटा कुनोपट्टि भएकाले त्यसले ओगटेको १०० मिटर लम्बाइ घटाएर तत्कालै १,४०० मिटरको धावनमार्ग तय गरेर विमानस्थल खुलाइसकिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले बीबीसीलाई बताए।
उक्त लम्बाइ हाल आन्तरिकतर्फ सञ्चालनमा रहेका सबैभन्दा ठूला जहाज एटीआर उडान-अवतरणका लागि पर्याप्त हुने भुलले बताए। भद्रपुर विमानस्थल नेपालका व्यस्तमध्येको आन्तरिक विमानस्थलमा पर्छ।एकजना हवाई उडानसम्बन्धी विज्ञ कुमार चालिसे मानवीय क्षति नभए पनि यस दुर्घटनाको अनुसन्धानलाई सामान्य रूपमा हेर्न नहुने र जड कारणसम्म पुग्नुपर्ने बताउँछन्।
कारण के?शुक्रवार राति ९ बजेपछिको उक्त दुर्घटनाको प्रस्ट कारण अनुसन्धानपछि थाहा हुने बताइए तापनि उड्डयन अधिकारीहरूले सतहमा देखिएका केही कारण बीबीसीलाई बताएका छन्।
सो विमानस्थलका एअर ट्राफिक कन्ट्रोलरले दिएको विवरण उल्लेख गर्दै सहप्रवक्ता भुलले अवतरण गर्ने बेला विमान जुन कोणमा आउनुपर्ने त्योभन्दा केही बढ्ता देखिएको बताए।"जसले गर्दा धावनमार्गमा केही अगाडि नै विमान टच गर्छ," भुलले भने। "त्यस्तो हुनुका कारण यान्त्रिक हो वा पाइलटले गरेको परिस्थितिको वा अन्य कुनै मूल्याङ्कन भन्ने समीक्षा हुन बाँकी छ। यी तत्काल देखिएका केही सङ्केत मात्र हुन्। अनुसन्धानपछि थप थाहा हुने छ।"
सेवानिवृत्त फ्लाइट इञ्जिनिअर कुमार चालिसे दुर्घटनाका प्रारम्भिक दृश्य र विवरण हेर्दा त्यो यान्त्रिक गडबडीभन्दा बढ्ता चालक दलले तत्कालीन स्थितिमा लिएको निर्णय जिम्मेवार रहेको देखाउने बताउँछन्।
"कहिलेकाहीँ अवतरणका बेला एङ्गलिङ नमिल्दा विमानले सहज रूपमा जमिन नछोएको हुन सक्छ। त्यस्तोमा विमान बढ्ता उफ्रन्छ र धावनमार्गमा नियन्त्रण गर्न नसके चिप्लने र बाहिर जाने परिस्थिति आउन सक्छ," चालिसे भन्छन्।
"यसको अनुसन्धानका बेला त्यतिखेर चालक र सहचालकले के मूल्याङ्कन गरेका थिए भन्ने कुरालाई मिहिन रूपले मूल्याङ्कन गर्नुपर्ने देखिन्छ।"
अनुसन्धान कसरी
तत्काललाई उद्धार तथा विमानस्थल सञ्चालनमा ल्याउने काम प्राथमिकताका साथ भएपछि अब अनुसन्धानतर्फ आफूहरू केन्द्रित हुने प्राधिकरणका प्रवक्ता विक्रमराज गौतम बताउँछन्।
"प्राधिकरणले कानुनबमोजिम आन्तरिक रूपमा गर्ने अनुसन्धानको तयारी गरिसकेको छ। त्यसलाई छुट्टै समिति बनाएर अनुसन्धान गर्न सकिने अर्को विकल्प पनि रहन्छ जसको निर्णय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्ने छ," गौतम भन्छन्।
"घटना हुनुपछाडि अनेक कारण हुन सक्छन्। पाइलटको विवेक, प्राविधिक पक्ष, तत्कालीन अवस्थामा आकाशको मौसम र धावनमार्गको अवस्थासम्मका कारण त्यसमा जिम्मेवार हुन सक्छन। ती सबै पक्षको मूल्याङ्कनपछि त्यसबारे प्रस्टता आउने छ।"
उड्डयनविद् चालिसे भने मानवीय क्षति नभएका यस्ता परिस्थितिमा विगतमा "दुर्घटना" नभनीकन "घटना" मात्र भनेर गहिराइमा नपुग्ने प्रवृत्ति दोहोरिन हुँदैन।
"यो मुख्य घटना नै हो। विमानको अगाडिको भाग पूरै जोतिएको देखिन्छ। त्यसले चक्कामै पनि असर पुर्याएको हुनुपर्छ। ती विमानका मुख्य अङ्ग हुन् जसमा क्षति पुग्ने परिस्थिति भनेको दुर्घटना नै हो भनेर आईकाओको निर्देशिकामै पनि उल्लेख छ," चालिसे भन्छन्।"त्यसैले यो स्वतन्त्र जाँचबुझ समिति नै बनाएर अनुसन्धान गर्नुपर्ने घटना हो।"(बीबीसी)