राजनीतिज्ञ तथा प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान् दुर्गाप्रसाद सुवेदीको स्वास्थ्यमा समस्या देखिएपछि उनी थप उपचारका लागि भारत जाँदै छन्।सुवेदी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत थिए। अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंका अनुसार उनी पिसाबको सङ्क्रमण (Urinary Tract Infection) का कारण बिहीबार अस्पतालमा भर्ना भएका थिए।
डा. सेढाईंका अनुसार पिसाबको सङ्क्रमणसँगै अन्य जटिल समस्या पनि देखिएकाले थप उपचारका लागि भारत जाने निर्णय गरिएको हो। सोही अनुसार उनलाई आइतबार अस्पतालबाट डिस्चार्ज गरिएको छ।
“पिसाबको सङ्क्रमण भएपछि उनी बिहीबार अस्पतालमा भर्ना भएका थिए। अन्य समस्या पनि देखिएकाले थप उपचारका लागि भारत जाने निर्णय भयो र आज डिस्चार्ज गरिएको हो,” डा. सेढाईंले बताए।
सुवेदीले केही समयअघि प्रोस्टेटको शल्यक्रिया पनि गराएका थिए। चिकित्सकको सल्लाहअनुसार उनी थप उपचारका लागि भारत प्रस्थान गर्दै छन्।