नयाँ दिल्ली, भदौ २२
भारतमा कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको दैनिक संख्या प्रतिदिन वृद्धि हुँदै गइरहेको छ । पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै ९० हजार ६३३ जना संक्रमित भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
योसँगै भारतमा कोरोनाभाइरसबाट अहिलेसम्म कुल संक्रमितहरुको संख्या ४१ लाखभन्दा बढी पुगेको देखिएको छ । संघीय (केन्द्रीय) स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार भारतमा कोरोनाकै कारण मृत्यु भएकाहरुको संख्या अहिलेसम्म ७० लाख छ सय २६ पुगेको छ ।
कुल मृतकमध्ये एक हजार ६५ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको पनि मन्त्रालयले आइतबार जनाएको छ । भारतमा कोरोनाका कारण अहिलेसम्म ४१ लाख १३ हजार आठ सय १२ जना संक्रमित भएका छन् । तीमध्ये ३१ लाख ८० हजार ८६६ जना संक्रमणमुक्त भइसकेका छन् ।
अधिकारीहरूका अनुसार अरु आठ लाख ६२ हजार तीन सय २० जना अझै पनि संक्रमित अवस्थामै रहेका छन् । भारतमा अहिलेसम्म चार करोड ८८ लाख मानिसको कोरोना परीक्षण गरिएको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जानकारी दिएको छ ।