काठमाडौं । खल्ती वालेटका प्रयोगकर्ताले अब नबिल बैंकका एटीएमबाट खल्ती एपको प्रयोग गरी नगद निकाल्न पाउने भएका छन् । यसका लागि नबिल बैंक र खल्ती वालेटबीच सम्झौता भएको छ । सम्झौताअनुसार खल्तीका प्रयोगकर्ताले नबिल बैंकका मुलुकका विभिन्न स्थानमा रहेका एटीएमबाट कार्डको प्रयोग नगरी सहज रुपमा खल्ती वालेटमा भएको रकम निकाल्न सक्ने बैंकले जनाएको छ । बैंकलाई वालेटदेखि एटीएम कारोबारको प्रणालीलाई एकापसमा जोड्नका लागि उक्त सम्झौता गरिएको बैंकको भनाइ छ । सम्झौताअनुसार वालेट प्रयोगकर्ताले दैनिक अधिकतम पाँच हजार रुपैयाँ र मासिक रुपमा अधिकतम २५ हजार रुपैयाँ नगद निकाल्न सकिनेछ ।
नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आदर्श बजगाईंले उक्त सम्झौतापछि बैंकको एटीएम नेटवर्कलाई वालेटका प्रयोगकर्तासम्म विस्तार गर्न सहयोग पुगेको बताए ।