काठमाडौं । नेपाल रेमिट्यान्स संघको २०औँ वार्षिकोत्सव तथा वार्षिक साधारणसभाको अवसरमा नेपालको रेमिट्यान्स क्षेत्रको विकास र औपचारिकीकरणमा उल्लेखनीय योगदान पुर्याएको भन्दै अग्रणी व्यक्तित्व नवराज घिमिरेलाई सम्मान गरिएको छ । सन् १९९६ सम्म रेमिट्यान्स कारोबार मुख्यतः अनौपचारिक माध्यमबाट सञ्चालन भइरहेको अवस्थामा घिमिरेले ती कारोबारलाई औपचारिक प्रणालीमा रूपान्तरण गर्न अग्रसर भूमिका निर्वाह गरेका थिए । घिमिरेले आफ्नै कम्पनी अन्नपूर्ण ट्राभलमार्फत व्यवस्थित रूपमा रेमिट्यान्स सेवा सुरु गर्नुभएको थियो । यसले विदेशमा कार्यरत नेपालीहरूले पठाउने रकम सुरक्षित, पारदर्शी र विश्वसनीय माध्यमबाट नेपाल भित्र्याउन महत्वपूर्ण योगदान पुर्यायो । यही संस्थापछि रूपान्तरण भइ एटीटी रेमिट प्रालिको रूपमा विकसित भएको हो ।
वार्षिक साधारणसभालाई सम्बोधन गर्दै नेपाल रेमिटर्स सङ्घका अध्यक्ष रितेश मित्तलले करिब तीन दशकअघि औपचारिक रेमिट्यान्स व्यवसायको जग बसाल्दै मार्गदर्शन गर्नुभएको नवराज घिमिरेको दूरदर्शी सोच, साहसी नेतृत्व र निरन्तर समर्पणकै कारण आज नेपाली रेमिट्यान्स उद्योग संस्थागत रूपमा विकसित भइ मुलुकको प्रमुख विदेशी मुद्रा आर्जन गर्ने क्षेत्रका रूपमा स्थापित भएको उल्लेख गरे ।
नेपाल रेमिटर्स संघले घिमिरेको दूरदृष्टि, निरन्तरता र नेतृत्वले नेपालको रेमिट्यान्स प्रणालीलाई औपचारिक, सुरक्षित र व्यवस्थित बनाउने आधार तयार गरेको जनाउँदै उनको योगदानले वित्तीय समावेशीकरण र राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलेको स्पष्ट पारेको छ ।