नेपालगञ्ज । नेपालगञ्जमा घरेलु औद्योगिक प्रदर्शनी एवं व्यापार महोत्सव आयोजना हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखाको आयोजनामा पुस ३० गतेदेखि आगामी माघ १० गतेसम्म आठौँ ‘प्रादेशिक घरेलु, कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एवं व्यापार महोत्सव–२०८२’ हुने लागेको हो ।
स्थानीय उत्पादनको प्रवर्द्धन, घरेलु तथा साना उद्योगको बजार विस्तार र पर्यटन विकास गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गर्ने तयारी गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक समरबहादुर खत्रीले जानकारी दिए । महोत्सवमा लघु, घरेलु तथा साना उद्योगबाट उत्पादित स्वदेशी वस्तुको प्रदर्शनी, कृषि, वन पैदावार, हस्तकला, ऊर्जा, बायोग्यासलगायत सामग्रीका दुई सयभन्दा बढी प्रदर्शनी कक्ष रहनेछन् । स्थानीय पर्यटकीय गन्तव्यको जानकारीमूलक प्रस्तुति, महिला उद्यमीद्वारा उत्पादित हस्तकलाका सामग्री, नवीनतम सूचना प्रविधिका सामग्री प्रदर्शनीमा राखिनेछन् । मेलामा बैंक तथा वित्तीय संस्था र सेवा प्रदायक संस्थाका सेवासुविधाका बारेमा जानकारी, औद्योगिक तथा व्यापारिक प्रतिष्ठानका उत्पादन, बालउद्यान, ‘फुडकोर्ट’, थारु समुदायका मौलिक परिकार, सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम, स्थानीय तथा राष्ट्रिय कलाकारको सांस्कृतिक प्रस्तुति पनि आकर्षणका रूपमा रहने संयोजक खत्रीले बताए ।
दुई लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सवले आन्तरिक पर्यटन प्रवर्द्धन, स्थानीय कलासंस्कृतिको पहिचान र स्वदेशी उत्पादनको बजार विस्तारमा महत्वपूर्ण योगदान दिने आयोजक मूल समितिका सहसंयोजक विष्णुप्रसाद खनालले विश्वास व्यक्त गरे ।उनका अनुसार नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको आयोजना तथा महिला उद्यमी समितिको सहआयोजनामा हुने महोत्सवमा नेपालगञ्ज उपमहानगरपालिका, महासंघका विभिन्न पालिका समिति, सरकारी तथा गैरसरकारी निकायको सहयोग रहनेछ ।