काठमाडौं । नेपालको रेशम उद्योग पुनर्जागरणका लागि राष्ट्रिय रेशम सम्मेलन आयोजना गरिने भएको छ । ह्यान्डलुम फ्याब्रिक्स मेकर्स अफ नेपाल र रेशम विकास केन्द्रको संयुक्त आयोजनामा यही पुस २६ गते सो सम्मेलन हुन लागेको हो ।
नेपालको रेमश उद्योगलाई रणनीतिक, उच्च मूल्य अभिवृद्धि हुने र दिगो राष्ट्रिय उद्योगका रूपमा पुनःस्थापित गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको सोमबार पत्रकार सम्मेलनको आयोजना गरी ह्यान्डलुम फ्याब्रिक्सका अध्यक्ष रोशकुमार पोखरेलले जानकारी दिए । सम्मेलनमा सरकार, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था, लगानीकर्ता, गैरआवासीय नेपाली, विकास साझेदार, कृषक, सहकारी, उद्यमी तथा निर्यातकर्ताहरूलाई एउटै राष्ट्रिय मञ्चमा एकत्रित गरिनेछ । सम्मेलनको कृषि तथा पशुपक्षी विकास मन्त्री डा. मदनप्रसाद परियारले उघटन गर्ने कार्यक्रम छ । सम्मेलनमा ‘नेपालमा दिगो रेशम खेतीको आधार स्थापना’, ‘नेपालको मूल्य अभिवृद्धि रेशम उत्पादन पारिस्थिति प्रणालीको निर्माण’ र ‘नेपाल रेशम भिजन २०२६–२०३५ को लागि सक्षम रेशम पारिस्थितिक प्रणालीको निर्माण’ सम्बन्धी सत्र सञ्चालन हुनेछ ।
ह्यान्डलुम फ्याब्रिक्सका अध्यक्ष पोखरेलले नेपालमा हाल रेशम उद्योग सञ्चालनमा नरहेको बताए । ‘यसको कारण सम्भावनाको अभाव होइन, दीर्घकालीन उपेक्षा, विखण्डन र लगानीको कमी हो, विश्व बजारमा दिगो तथा प्राकृतिक वस्त्रको माग बढिरहेका बेला अब रेशमलाई वेवास्ता गर्न सकिँदैन’, उनले भने । रेशम विश्वकै उच्च मूल्य हुने कृषि–औद्योगिक उत्पादनहरूमध्ये एक हो । अध्यक्ष पोखरेलले रेशम उत्पादनबाट उच्च आम्दानी, न्यून कार्वन उत्सर्जन, महिलामुखी तथा ग्रामीण रोजगारी, कच्चा पदार्थभन्दा मूल्य अभिवृद्धि भएको निर्यातलगायत फाइदा लिन सकिने बताए । करिब २२ हजार हेक्टर क्षेत्रमा किम्बु (मूलबेरी) खेती, त्यससँगै रेमश किरा पालन, धागो उत्पादन, बुनाइ र वस्त्र निर्माणलाई एकीकृत रूमपा विकास गर्न सकेमा वार्षिक पाँच खर्ब रुपैयाँ बराबरको आर्थिक मूल्य सिर्जना गर्न सकिने सम्भावना रहेको ह्यान्डलुम फ्याब्रिक्सले जनाएको छ । एकीकृत मूल्य शृङ्खलाको अभाव, नीतिगत प्राथमिकताको कमी, वित्तीय पहुँच र बीमाको अभाव, प्रविधि तथा सीपको कमी, बजार तथा निर्यात संयन्त्रको अभावलगायतका कारण रेशम उद्योग संटमा पर्दै गएको अध्यक्ष पोखरेलको भनाइ छ । सोही समस्या समाधानमा सरोकारवालाको ध्यानाकृष्ट गर्ने लक्ष्यका साथ सम्मेलन आयोजना गरिएको उनले जानकारी दिए ।