औद्योगिक क्षेत्र फस्टाउनु भनेको देश समृद्धिको मार्गमा जानु हो । देशमा बितेको एक दशकको यो बेलासम्म सबभन्दा बढी पटक प्रधानमन्त्री भएका व्यक्तिको दलले समृद्ध नेपाल सुखी नेपाली भन्ने नारा सुरु गरेको पनि दशक नै बित्न लाग्यो । तर समृद्धिको मूल आधार औद्योगिक क्षेत्र भने अझ फष्टाउन सकेको छैन । त्यसको पछिल्लो उदाहरण हो औद्योगिक क्षेत्रको पर्याप्त उपभोग नहुनू । देशमा औद्योगिक क्षेत्र फष्टाएका थिए भने सातै प्रदेशका औद्योगिक क्षेत्रहरू खचाखच हुने थिए । त्यस्तै पछिल्ला दिन देशमा श्रमशक्ति बढेको बढेकै छ । त्यसको पर्याप्त प्रयोग गर्न नसक्दा वैदेशिक रोजगारीमा जानेहरूको सङ्ख्या दिनानुदिन बढिरहेकै छ । वैदेशिक रोजगारीमा जान खोज्नेहरू निरन्तर ठगिने क्रम पनि जारी नै छ र पनि श्रमिकहरूको अर्थात् वैदेशिक रोजगारीमा जानेहरूको सङ्ख्या दिनानुदिन बढिरहेको अवस्थाले देशको ओद्यौगिक क्षेत्र कमजोर अवस्थामा नै छ भन्ने बुझाउँछ । यस्तो बेला पनि यो क्षेत्रमा भएको लगानी भने आशाप्रद छ तर तिनका क्षमताको पूर्ण प्रयोग हुन नसक्दा यो लगानीलाई टिकाइराख्ने र नयाँ लगानी बढाउँनेमा भने समस्या आउन सक्तछ ।
हालै उद्योग विभागले मुलुकमा रहेको उद्योगहरूको अवस्था बुझाउँने एउटा प्रतिवेदन रिपोर्ट ल्याएको छ । त्यसले देखाएअनुसार उद्योगहरूमा करिब २६ खर्ब रुपैयाँ कुल पुँजी परिचालना भएको छ । विभागका अनुसार गएको आर्थिक वर्षमा सात सयवटा उद्योगमा २५ खर्ब ८१ अर्ब १८ करोड रुपैयाँ बराबरको कुल पुँजी परिचलान भएको थियो भने त्यो पँुजीबाट ३५ हजार एक सय ३१ जनाले रोजगारी पाउने भएका थिए । यी उद्योगहरूका कुल स्थिर पुँजीको अंक २२ खर्ब ८० अर्ब ५५ करोड र चालू पुँजी तीन खर्ब छ करोड २६ लाख रुपैयाँ रहेको विभागको भनाइ छ । सञ्चालनमा रहेका कुल सात सय उद्योगमध्ये पर्यटन क्षेत्रमा दुई सय ३५, सेवामा एक सय १०, उत्पादनमूलकमा एक सय छ, ऊर्जामा ३८, सूचना तथा प्रविधिमा एक सय ८५, कृषि तथा वनमा १२, खनिजजन्यमा १२ वटा रहेका छन् । प्रगति अध्ययन भएको समयमा सबैभन्दा बढी बागमती प्रदेशमा र सबैभन्दा कम कर्णालीमा रहेको उद्योग विभागले नै जनाएको छ । गएको वर्षको दर्ता हिसाबमा कोशीमा ४२, मधेशमा ३०, बागमतीमा पाँच सय ४३, गण्डकीमा ३०, लुम्बिनी ४३, कर्णाली एक र सुदूरपश्चिम ११ वटा उद्योग दर्ता भएको हो । यो चित्रले उद्योग खुल्ने क्रममा पनि असन्तुलन देखाउँछ । एउटा पूरै प्रदेश कणर्लीमा पूरै वर्षमा एउटामात्रै उद्योग दर्ता हुनुभनेको औद्योगिक विकासका लागि प्रदेशव्यापी औद्योगिक सन्तुलन कायम हुन नसकेको नै भन्नुपर्छ ।
अब आउँछ यी उद्योगहरूको क्षमता कति प्रयोग गर्न सकिएको छ भन्ने कुरा । संख्या बढी देखिएर र लगानी पनि बढेको भनेरमात्र हुँदैन । तिनका क्षमताको पूर्ण उपयोग भएन भने यसको खासै अर्थ रहँदैन । यस्तो अबस्थाले देशलाई आत्मनिर्भरतातर्फ लाँदैन । यो कुरालाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ । सरकारी निकाय उद्योग विभाग नै भन्छ, उद्योगहरूको क्षमता पर्याप्त मात्रामा प्रयोग हुन सकेन विभागका अनुसार गत आर्थिक वर्षमा उद्योगहरूको औसत क्षमतामा समेत गिरावट आएको देखियो । गएको आर्थिक वर्षमा उल्लेखित उद्योगहरूले औसत रूपमा आफ्नो क्षमताको उपयोग ४४ दशमलव पाँच प्रतिशत मात्र गर्न सके । आर्थिक वर्ष २०८०÷८१ मा औसत क्षमता उपयोग ४८ दशमलव तीन प्रतिशत रहेको थियो भने, पछिल्लो वर्ष घटेको देखिन्छ । क्षमता घटेकोमा तोरीको तेल, प्रशोधित दुध, चामल, गहुँको पिठो, पशुदाना, चिनी, चकलेट, प्रशोधित चिया, मदिरा, हल्का पेय पदार्थ, धागो, पस्मिना, गार्मेन्ट, जुटका सामान, चिरेको काठ, कागज, रोजिन, रङ्ग, पोलिथिन पाइप, इँटा, सिमेन्ट, कंक्रिट, जीआई तार, घरेलु धातुका सामान, आल्मुनियम उत्पादन, बिजुलीका तार र केबुल, टायर तथा ट्युब, चप्पल र बिजुली उत्पादन गर्ने उद्योग आदि छन् । दैनिक उपभोगमा आउने यस्ता वस्तुको क्षमता घट्नु भनेको कतै न कतै खोट रहनु हो ।