काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय प्रवक्ता ज्ञानेन्द्र शाही राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्ने तयारीमा रहेको बुझिएको छ। उनी रास्वपाको शीर्ष नेतृत्वसँग अनौपचारिक संवादमा रहेको स्रोतले जनाएको छ। जुम्लाबाट निर्वाचित शाहीलाई आगामी निर्वाचनमा पुनः जित हासिल गर्न कठिन हुने संकेत देखिएपछि रास्वपातर्फ समायोजन हुने तयारी थालेको बुझिएको छ। पछिल्लो समय उनले राप्रपाको मूल नेतृत्व र समानुपातिक सिफारिस भएका नामहरूप्रति तीव्र आलोचना गर्दै आएका छन्। उनको यो आलोचनालाई पार्टी परित्यागको संकेतका रूपमा पनि हेरिएको छ। केही दिनअघि शाहीले रास्वपामा प्रवेश गरेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग गोप्य भेटवार्ता गरेको बताइन्छ। त्यसयता उनले राप्रपाको नेतृत्वलाई लक्षित गर्दै कडा अभिव्यक्तिहरू दिँदै आएका छन्। यद्यपि शाहीले सार्वजनिक रूपमा पार्टी सुधारको माग राख्दै आएका छन्, तर भित्री रूपमा भइरहेको उनको गतिविधिलाई भने राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।