काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले एआई नीतिलाई उद्यमशीलता विकास र रोजगारी सिर्जनामा प्रयोग गर्न जोड दिएको छ ।
चेम्बरले काठमाडौंमा कृत्रिम बौद्धिकता एआई नीति र औद्योगिक विकासमार्फत नेपालको डिजिटल भविश्यबारे बृहत् अन्तरक्रिया कार्यक्रम गरी डिजिटल भविश्य निर्माण गर्नेगरी नीतिगत व्यवस्था गर्न जोड दिएको हो । नेपालमा एआई प्रविधिको प्रभावकारी उपयोग, नीतिगत स्पष्टता र कानुनी सहजतामार्फत डिजिटल भविष्य निर्माण गर्न सरकार निजी क्षेत्र र सरोकारवाला निकायबीच साझा समझदारी आवश्यक रहेको कार्यक्रममा सहभागी रोकारवालाले बताएका थिए । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले देशको सुुशासनका लागि आईटीको विकास महत्वपूर्ण भएको बताए । सरकारी सेवालाई चुस्त र प्रभावकारी बनाउन एवं आर्थिक पारदर्शिताका लागि पनि आईटीको विकास महत्वपूर्ण हुने उनको भनाइ छ ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुुमार अग्रवालले एआई केवल प्रविधिको विषय मात्र नभई आर्थिक पारदर्शिता, उद्यमशीलता प्रवद्र्धन र रोजगारी सिर्जनाको महत्वपूर्ण आधार बन्दै गएको बताए । डिजिटल रुपान्तरणमार्फत सार्वजनिक सेवालाई प्रभावकारी बनाउने, व्यावसायिक लागत घटाउने र निर्णय प्रक्रियामा पारदर्शिता ल्याउन एआईको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ । उनले एआईको माध्यामबाट कृषि, स्वास्थ्य, शिक्षा, वित्त, ऊर्जा तथा सार्वजनिक सेवामा गुणस्तर सुधार गर्दै सीमित स्रोतबाट अधिकतम उपलब्धि हासिल गर्नुपर्ने बताए । चेम्बरले सरकार र निजी क्षेत्रबीच विश्वसनीय पुुलको भूमिका निर्वाह गर्दै एआई नीति निर्माण र कार्यन्वयनमा निरन्तर सहकार्य गर्ने अध्यक्ष अग्रवालले प्रतिबद्धता जनाए ।
कार्यक्रममा चेम्बरका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले आईटीको विकासमार्फत दिगो आर्थिक विकास गर्नुपर्ने बताए । उनले सार्वजनिक निजी साझेदारीमार्फत आईटी क्षेत्रको विकास गर्न सकिए युवाहरुको वैदेशिक पलायन रोक्न सकिनेमा जोड दिए । कार्यक्रममा सहभागी विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले नेपालमा एआई नीतिको प्रभावकारिता, कानुनी जटिलता, डेटा सुुरक्षा, साइबर जोखिमजस्ता विषयमा धारणा राखेका थिए । सो क्रममा चेम्बरको आईटी, सफ्टवेयर र टेक्नोलोजी समिति तथा युुनियन अफ इन्फरमेसन कम्युुनिकेसन एन्ड टेक्नोलोजी नेपालबीच सूूचना प्रविधि र एआईको क्षेत्रमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता समेत भएको छ । सम्झौतामा चेम्बर आईटी समिति सभापति विज्ञान श्रेष्ठ र युुनियन अफ इन्फरमेसन कम्युुनिकेसन एन्ड टेक्नोलोजीका तर्फबाट महासचिव कुशल रेग्मीले हस्ताक्षर गरेका थिए । कार्यक्रममा सूचना प्रविधि क्षेत्रका दुुई दर्जन बढी संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।