काठमाडौं — काठमाडौंको जहरसिंहपौवा–साँखु सडकखण्डमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । दुर्घटनामा घाइते ३३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बा ४ ख ८७८८ नम्बरको बस बुधबार साँझ दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा तीन महिला र दुई पुरुषको मृत्यु भएको बताएको छ । गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी निवासी अन्दाजी ५५–६० वर्षीय अर्जुन लामिछानेको उपचारका क्रममा गएराति साढे १२ बजे मृत्यु भएपछि मृतक संख्या पाँच पुगेको हो । यसअघि मृत्यु हुनेमा बाँकेको कोहलपुर नगरपालिका–५ घर भई हाल बुढानीलकण्ठ बस्ने ४९ वर्षीया कामना शर्मा, ताप्लेजुङको पाथीभरा–५ घर भई हाल बुढानीलकण्ठ–७ बस्ने ५१ वर्षीया इन्दिरा लिम्बु, सिराहा घर भई हाल पेप्सीकोला बस्ने ५५ वर्षीया शान्ति गुप्ता र पाँचथर घर भई हाल गोठाटार बस्ने ६५ वर्षीय देवेन्द्र लिम्बु रहेका छन् । प्रहरीका अनुसार नेचर हाउस एन्ड हर्ब इन्टरनेशनल कम्पनीबाट पिकनिक गएर फर्किने क्रममा उनीहरू सवार बस दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते भएकाहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको र केहीको अवस्था गम्भीर रहेको जनाइएको छ । प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेको जनाएको छ ।