काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचनको १९ पदका लागि ४४ जनाको उम्मेदवारी परेको छ । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बुधबार उम्मेदवारी मनोनयन गरिएको हो ।
निर्वाचन आयागले उम्मेदवारी मनोनयनको सूची सार्वजनिक गरेको छ । सार्वजनिक सूचीअनुसार १९ पदका लागि हुने निर्वाचनका लागि प्रदेशगत रूपमा विभिन्न दलका गरी ४४ उम्मेदवारले आवेदन दिएका छन् । निर्वाचनमा नेपाली काँग्रेस ९ सिट, एमालेले ८ र लोकतान्त्रिक समाजवादी पार्टीले १ सिट लिनेगरी तालमेल गरेका छन् भने नेपाली कम्युनिष्ट पार्टी एक्लै चुनावी प्रतिस्पर्धामा उत्रेको छ । नेपाली काँग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशी प्रदेशबाट सुनिलबहादुर थापा (अन्य), मधेस प्रदेशबाट धर्मेन्द्र पासवान (दलित) र रन्जित कर्ण (अपाङ्गता/अल्पसङ्ख्यक), बागमती प्रदेशबाट गीता देवकोटा (महिला), गण्डकी प्रदेशबाट जगत् तिमिल्सिनालाई (अन्य)मा उम्मेदवारी दर्ता गराएको छ । यसैगरी, लुम्बिनी प्रदेशबाट वासुदेव जङ्गली (अपाङ्गता/अल्पसङ्ख्यक) र चन्द्रबहादुर केसी (अन्य), कर्णाली प्रदेशबाट ललितजङ्ग शाही (अन्य) र सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खाती (अन्य)लाई उम्मेदवार बनाएको छ । यसैगरी एमालेले कोशीमा रोशनी मेचे (महिला), सोमनाथ पोर्तेल (दलित), मधेश प्रदेशमा रेखा कुमारी झा (महिला), बागमतीमा प्रेम दंगाल (अन्य) र गण्डकी प्रदेशमा सम्झना देवकोटा (महिला)लाई उम्मेदवार बनाएको छ । त्यस्तै लुम्बिनीमा रामकुमारी झाँक्री (महिला), कर्णालीमा मीना रखाल (महिला) र सुदूरपश्चिममा लिला कुमारी भण्डारी (महिला) एमालेको उम्मेदवार बनाएको छ ।
नेपाली कम्युनिष्ट पार्टीले नेकपाले कोशी प्रदेशबाट खेमराज सुन्दास (दलित) र नमिता न्यौपाने (महिला), मधेसबाट रामनन्दन प्रसाद (अपाङ्गता/अल्पसङ्ख्यक), लक्ष्मण पौडेल (अन्य), शम्भु पासवान (दलित) र समिकुमारी अग्रवाल (महिला), बागमतीबाट प्रेमप्रसाद सापकोटा (अन्य) र सरोज कुमारी झा (महिला)लाई उम्मेद्वार बनाएको छ । यसैगरी, गण्डकीबाट कपिल लामा (अन्य), लुम्बिनीबाट दुर्गा कुमारी भण्डारी (महिला), वृहस्पति अधिकारी (अन्य) र सर्जन बिक (अपाङ्गता/अल्पसङ्ख्यक), कर्णालीबाट बुद्धिप्रसाद शर्मा (अन्य) र अन्जु महतरा (महिला) तथा सुदूरपश्चिमबाट टीकाराम जैशी (अन्य) र रोजी बस्नेत सुनार (महिला)लाई उम्मेदवार बनाएको छ ।
राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि राष्ट्रिय जनमोर्चाले पनि उम्मेदवार उठाएको छ । जनमोर्चाले गण्डकी प्रदेशबाट शकंर बराल (अन्य) र लक्ष्मी बास्कोटा (महिला), लुम्बिनी प्रदेशमा बोम बहादुर खत्री (अन्य)ले उम्मेदवारी दिएका छन् । राष्ट्रियसभा सदस्य पदका लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरले मनोनयन दर्ता गराएका छन् । उनले मधेश प्रदेशको अन्य क्लस्टरमा उम्मेद्वारी दिएका हुन् । ठाकुर काँग्रेस र एमालेका साझा उम्मेद्वार समेत रहेका छन् । मधेशमा जनता समाजवादी पार्टी नेपालले पनि उम्मेद्वारी दर्ता गराएको छ । उक्त पार्टीले महिलामा चन्द्रकलादेवी शाह, दलितमा चमेलीदेवी दास, अपाङ्गता÷अल्पसङ्ख्यकमा शैलेश कुमार चौधरीलाई उम्मेद्वार बनाएको हो । बागमतीमा नेपाल किसान मजदुर पार्टीले पनि उम्मेदवारी दर्ता गराएको छ । सो पार्टीका कविता महर्जन (महिला) र विक्रम ढुकुचु (अन्य)ले मनोनयन गराएका हुन् ।
आयोगका अनुसार उम्मेदवारीमाथि बिहीबार उजुरी दिन सकिनेछ भने पुस २५ र २६ गते उजुरीमाथि जाँचबुझ गरी नामावली प्रकाशन गर्ने, २७ गते उम्मेदवारी फिर्ता लिनसक्ने र २८ उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको छ । उक्त निर्वाचनमा प्रदेशसभा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुने कानुनी व्यवस्था छ । सोबमोजिम प्रदेशसभा सदस्य पाँच सय ४५ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख एक हजार चार सय ९८ गरी दुई हजार ४३ प्रारम्भिक मतदाता नामावली स्वीकृत भएको ती मतदातामध्ये प्रदेशसभाका सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ रहेको छ ।