काठमाडौं – नेपाल सरकारले अमेरिका र भेनेजुएलाबीच बढ्दो तनावप्रति गम्भीर चासो व्यक्त गर्दै सबै पक्षलाई अधिकतम संयम अपनाउन आग्रह गरेको छ।नेपालको परराष्ट्र मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ कि, अमेरिकी सेनाले भेनेजुएलाको राजधानी र अन्य शहरहरूमा आक्रमण गरी त्यहाँका राष्ट्रपति दम्पत्तिलाई नियन्त्रणमा लिएर न्यूयोर्कमा राखेपछि दुई देशबीच तनाव बढेको छ। यस घटनाले विश्वका विभिन्न मुलुकहरूमा चासो र चिन्ता उत्पन्न गरेको छ। विज्ञप्तिमा नेपालले संयुक्त राष्ट्रसंघको चार्टर अनुसार सबै राज्यहरूको सार्वभौमिकता, भौगोलिक अखण्डता र राजनीतिक स्वतन्त्रताको पूर्ण सम्मान अनिवार्य रहेकोमा जोड दिएको छ। साथै, नेपालले कुनै पनि विवाद संवाद, कूटनीति र आपसी समझदारीमार्फत शान्तिपूर्ण रूपमा समाधान गरिनुपर्ने पनि स्पष्ट पारेको छ। नेपालले यस घटनालाई थप तनावपूर्ण बनाउन सक्ने कुनै पनि कदम नचाल्न र सबै पक्षले संयम कायम गर्न आग्रह गरेको छ।