काठमाडौं । लुम्विनी प्यालेस रिसोर्ट लिमिटेडले रुपन्देहीको सियारीमा पाँचतारे होटल सञ्चालन गर्नेभएको छ । कम्पनीले आफ्नो सेवालाई स्तरोन्नति गर्न लुम्बिनी म्यारिओट रिसोर्ट एन्ड स्पाको ब्राण्डमा पाँचतारे होटल सञ्चालन गर्ने भएको हो ।
यो रिसोर्ट म्यारिओट इन्टरनेसनलको काठमाडौं उपत्यकाबाहिरको पहिलो र एकमात्र उपस्थिति हुनेछ । यसको लागि रिसोर्टको तर्फबाट रिसोर्टका अध्यक्ष दिपक पाण्डेय, प्रबन्ध सञ्चालक रोशन कुमार न्यौपाने र म्यारिओट इन्टरनेसनलको तर्फबाट एसिया प्यासिफिक हेर्ने प्रमुख सञ्चालन अधिकृत निरज गोविल र म्यारिओट इन्टरनेसनलको वरिष्ठ उपाध्यक्ष किरण एन्डीकट, उपाध्यक्ष जुही रोयलगायतका उच्चपदस्थ पदाधिकारीहरूको संलग्नतामा होटल व्यवस्थापनसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
लुम्बिनी प्यालेस रिसोर्ट लिमिटेडले चालू आर्थिक वर्षमा पाँच तारे रिसोर्टको सञ्चालन अनुमति लिने लक्ष्य लिएको छ । नेपालको पर्यटन उद्योगमै विल्कुलै नयाँ सुविधाहरूसहित नेपालको पहिलो र एकमात्र वाटर रिसोर्टको रुपमा सञ्चालन हुने यस रिसोर्टमा अत्याधुनिक सेवा–सुविधा उपलब्ध हुनेछ ।