काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)ले ग्लोबल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन) परियोजनाको औपचारिक शुभारम्भ गरेको छ ।
काठमाडौंमा बुधबार पत्रकार सम्मेलन आयोजना गरी परियोजना घोषणा गरिएको हो । कार्यक्रममा आईक्यानले गेन परियोजनाको आधिकारिक प्रवद्र्धनात्मक भिडियो सार्वजनिकसँगै नेपालमा लेखा तथा वित्तीय आउटसोर्सिङका लागि समर्पित वेब पोर्टल पनि शुभारम्भ गरेको छ । गेन परियोजना विश्वव्यापीरूपमा तीव्र गतिमा बढिरहेको विशेष गरी लेखा, लेखापरीक्षण, कर, तलब भुक्तानी (पेरोल) तथा वित्तीय प्रतिवेदनजस्ता उच्च मूल्यका क्षेत्रमा बिजनेस प्रोसेस आउटसोर्सिङ (बीपीओ) र नलेज प्रोसेस आउटसोर्सिङ (केपीओ) प्रतिको एक रणनीतिक उत्तर हो । विकसित अर्थतन्त्रहरूमा लेखासम्बन्धी पेसाकर्मीको अभाव बढ्दै गएको र भौतिक दूरीका हिसाबले ढाटाबाट गरिने सेवा प्रवाहको स्वीकार्यता बढिरहेको परिप्रेक्ष्यमा नेपाल यसप्रकारको बढ्दो बजारबाट लाभान्वित हुन विशिष्टरूपमा सक्षम अवस्थामा छ ।
कार्यक्रममा आईक्यानका अध्यक्ष सिए निलबहादुर सारु मगरले यो परियोजना संस्थाको कानुनी कर्तव्य र दीर्घकालीन रणनीतिक दृष्टिकोणअनुरुप रहेको बताए ।
‘ग्लोबल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन) एउटा व्यावसायिक पहल मात्र होइन; यो आर्थिक रूपान्तरणको एजेन्डा पनि हो । नेपालसँग पहिले नै योग्य जनशक्ति, प्रतिस्पर्धी लागत र अंग्रेजी भाषामा बलियो दक्षता छ । गेनमार्फत हामीले हाम्रा यी सबल पक्षहरूलाई संस्थागत गर्दै नेपाललाई विश्वसनीय र उच्च गुणस्तरीय लेखासम्बन्धी आउटसोर्सिङ गन्तव्यको रूपमा विश्वसामु प्रस्तुत गर्ने लक्ष्य राखेका छौँ,’ उनले भने । आईक्यानको अनुमान अनुसार योजनाबद्ध सरकारी सहजीकरणको अभावका बाबजुद नेपालका करिब एक हजार लेखासम्बन्धी पेसाकर्मीहरू अन्तर्राष्ट्रिय आउटसोर्सिङ सेवामा संलग्न छन् । यसबाट वार्षिक करिब चार करोड ५० लाख अमेरिकी डलरबराबरको विदेशी मुद्रा आर्जन भइरहेको अनुमान संस्थाले गरेको छ । गेन परियोजनाले समन्वयमा आधारित नीतिगत पैरवी, सीप विकास, पूर्वाधारको सशक्तीकरण तथा अन्तर्राष्ट्रिय ब्रान्डिङमार्फत यस प्रभावलाई उल्लेखनीय रूपमा विस्तार गर्ने लक्ष्य राखेको छ ।
आईक्यानले लेखा आउटसोर्सिङसम्बन्धी वेब पोर्टल पनि सार्वजनिक गरेको छ । यसले नेपाली लेखा तथा वित्तीय आउटसोर्सिङ पेसाकर्मीहरूलाई अन्तर्राष्ट्रिय ग्राहकसँग जोड्ने आधिकारिक प्लेटफर्मको रूपमा काम गर्नेछ । उक्त पोर्टलमा प्रमाणित सेवा प्रदायकहरूको विवरण तथा नेपालको आउटसोर्सिङ इकोसिस्टमसम्बन्धी जानकारी समावेश हुनेछ र जसले विश्वबजारमा पहुँच बढाउने अपेक्षा गरिएको छ । गेन परियोजनाअन्तर्गत आईक्यानले देशको ब्रान्डिङ, रणनीतिक बजारीकरण, सीप विकास, अन्तर्राष्ट्रिय सहकार्य, अनुसन्धान तथा नीतिगत सल्लाह र इकोसिस्टम विकासका पहलहरूको नेतृत्व गर्नेछ ।
साथै, संस्थाले नियामकीय तथा नीतिगत सुधार, समर्पित बीपीओ÷केपीओ केन्द्रहरूको स्थापना र सुदृढ डिजिटल पूर्वाधारका लागि पैरवी गर्नेछ । गेन परियोजनाले आगामी एक दशकमा वार्षिक एक लाख ५० हजारभन्दा बढी व्यक्तिहरूलाई रोजगारी सिर्जना र वार्षिक छ अर्ब अमेरिकी डलरभन्दा बढी आम्दानी गर्न सहयोग पु¥याउने आईक्यानको अपेक्षा छ ।