युरोप । भेनेजुएलाबाट तेल ओसारपसार गर्ने रुसी ध्वजावाहक तेल ट्यांकर ‘मेरिनेरा’ पानीजहाज आफ्नो नियन्त्रणमा लिएको संयुक्त राज्य अमेरिकाको सेनाले छ । उक्त जहाजको सुरक्षाका लागि रुसले सैनिक पनडुब्बी परिचालन गरेको थियो । तर नेपाली समयअनुसार बुधबार राति अमेरिकी सेनाले जहाज आफ्नो नियन्त्रणमा लिएको हो ।
अमेरिकी सेनाको युरोप कमान्डले जहाज नियन्त्रणमा लिएको पुष्टि गरेको एजेन्सीहरुले उल्लेख गरेका छन् । यो जहाज भेनेजुएलासँग सम्बन्धित भए पनि अमेरिकाको कब्जामा जाने डरले रुसको झण्डा राखिएको थियो । उत्तर एटलान्टिक समुद्रबाट जहाज नियन्त्रणमा लिइएको सीएनएनले जनाएको छ ।
‘यो नियन्त्रणले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पश्चिमी क्षेत्रको सुरक्षा र स्थायित्वको जोखिम बढाउने संरक्षित साधनहरुलाई लक्षित गर्ने नीतिको समर्थन गर्छ’, अमेरिकी युरोप कमान्डले सामाजिक सञ्जालमा उल्लेख गरेको छ । उत्तर एटलान्टिक समुद्रमा आइसल्यान्डको दक्षिणी किनारबाट १९० माइल टाढाबाट जहाजमा अमेरिकी सेना प्रवेश गरी नियन्त्रणमा लिइएको बताइएको छ । सेनाको नियन्त्रण छल्न जहाजले दिशा परिवर्तन गरे पनि सम्भव भएन ।
अमेरिकाले जहाज नियन्त्रणमा लिएपछि रुसको यातायात मन्त्रालयले उक्त जहाजसँग सम्पर्कविच्छेद भएको जनाएको छ । मन्त्रालयले अमेरिकी सेनाको कदमको निन्दा समेत गरेको छ । ‘कुनै पनि राज्यलाई अन्य देशमा दर्ता भएको साधनमाथि बल प्रयोग गर्ने अधिकार छैन’, मन्त्रालयलाई उद्धृत गर्दै सीएनएनले समाचारमा उल्लेख गरेको छ । यो प्रावधान सन् १९८२ को राष्ट्रसंघीय महासन्धिअन्तर्गत रहेको समेत स्मरण गराइएको छ । जुन महासन्धिमा अमेरिकाले हस्ताक्षर गरेको छैन ।
अर्को जहाज पनि नियन्त्रणमा
यसैबीच, अमेरिकाले अर्को तेल ट्यांकर पनि आफ्नो नियन्त्रणमा लिएको जनाएको छ । क्यारिबियन क्षेत्रबाट अर्को ट्यांकर नियन्त्रणमा लिइएको हो । अमेरिकी दक्षिणी कमान्डले ट्विटरमा यसको पुष्टि गरेको छ । यो ट्यांकर कुन देशको स्वामित्वमा रहेको खुलेको छैन । अवैध गतिविधि भेटिएपछि यो जहाजलाई नियन्त्रणमा लिएको अमेरिकी सेनाको भनाइ छ । अमेरिकी रक्षा र गृह मन्त्रालयको संयुक्त अपरेसनका दौडान यो जहाज नियन्त्रणमा लिइएको थियो । यसलाई अमेरिकातर्फ लगिँदै गरेको दक्षिण कमान्डले पुष्टि गरेको छ ।