काठमाडौं । महाधिवेशन पक्ष विपक्षमा चर्को बहस भइरहेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन मागकर्ताले गरेको हस्ताक्षरमा मृत्यु भइसकेका महाधिवेशन प्रतिनिधिको समेत रहेको पाइएको छ ।
विशेष महाधिवेशन पक्षधरले आफूहरुको पक्षमा बहुमत पु¥याउने नाममा मृत्यु भइसकेका महाधिवेशन प्रतिनिधि सर्लाहीको हरिपूर्वा नगरपालिका नगरपालिका–५ हरिपूर्वा स्थायी ठेगाना भएका उपेन्द्र रामको हस्ताक्षर प्रयोग गरेको पाइएको हो ।
गत असोज २४ गते निधन भएका उपेन्द्रको विशेष महाधिवेशन पक्षधरको हस्ताक्षर गरेको पाइएपछि उनका छोरा चन्दन रामले सोको विरोध गर्दै आफूहरु विशेष महाधिवेशनको विपक्षमा रहेको बताएका हुन् ।
मृतक उपेन्द्रको हस्ताक्षर सार्वजनिक भएसँगै छोरा चन्दनले कांग्रेस कार्यबाहक सभापतिलाई सोको पक्षमा नरहेको भन्दै हस्ताक्षर फिर्ता लिएको जानकारीसहितको पत्र पठाएका छन् ।
विशेष महाधिवेशन गर्ने र नगर्ने भन्नेहरुको विवादका बीच यही पुस २७ र २८ गते विशेष महाधिवेशन पक्षधरहरुले विशेष महाधिवेशनको आह्वान गरेका छन् ।
गत भदौ २२ र २३ गते देशभर भएको जेन–जीको आन्दोलनपछि नपाली कांग्रेसमा महाधिवेशन गर्नुपर्ने भन्दै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनको मागसहित निवेदन दर्ता गराएका थिए ।
असोज २९ गते विशेष महाधिवेशनको मागसहित ५४ प्रतिशतले दिएको निवेदन कांग्रेस विधानको धारा १७ को २ अनुसार ३ महिनाभित्रमा कार्यान्वयन हुनुपर्नेमा नभएको भन्दै कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको मितिसहित सबैलाई उपस्थित हुन आह्वान गरिएको हो ।