नेपाल विकासको मूल आधारहरूमध्ये पर्यटन क्षेत्र एक प्रमुख स्तम्भ हो । सानो भूगोल भए पनि नेपाल प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र धार्मिक आस्थाका दृष्टिले विश्वमै विशिष्ट स्थानमा रहेको देश हो । यदि नेपालले धार्मिक पर्यटनलाई व्यवस्थित रूपमा विकास गर्न सक्यो भने, ठूला उद्योग वा कारखाना नहुँदा पनि लाखौँ पर्यटक आकर्षित गर्न सक्छ । विशेष गरी भारतजस्ता छिमेकी विशाल मुलुकका लागि नेपाल एक प्रमुख धार्मिक गन्तव्य बन्न सक्छ । धार्मिक पर्यटनले देशको अर्थतन्त्र चलायमान बनाउन, रोजगारी सिर्जना गर्न र अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि मजबुत बनाउन ठूलो भूमिका खेल्न सक्छ ।
संसारका विभिन्न देशहरूले आफ्ना देशभित्र रहेका र विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाहरूलाई कसरी संरक्षण र व्यवस्थापन गरेका छन् भन्ने उदाहरण हामीसामु प्रशस्त छन् । यदि नेपालले ती उदाहरणहरूबाट सिकेर आफ्नै सन्दर्भअनुसार आवश्यक कुरा अपनाउन सकेको भए आज नेपाल आर्थिक रूपमा मात्र होइन, व्यवस्थापनका हिसाबले पनि विश्वसामु एउटा उदाहरणीय देश बन्न सक्थ्यो । अमेरिकाको ह्वाइट हाउस, अस्ट्रेलियाको ओपेरा हाउस, लन्डन ब्रिज, फ्रान्सको एफिल टावरदेखि भारतका मठ–मन्दिरहरू नेपालका मन्दिरहरूको तुलनामा धेरै व्यवस्थित छन् । ती सम्पदाहरूले ती देशलाई ठूलो आर्थिक लाभ दिएका छन्, जसका कारण आजसम्म पनि ती स्थलहरू विश्वभर चर्चित छन् र लाखौँ पर्यटकको आगमनले ती देशलाई आर्थिक, सांस्कृतिक र कूटनीतिक रूपमा समेत माथि उठाएको छ ।
पशुपतिनाथ, स्वयम्भूनाथ, बौद्धनाथ, मुक्तिनाथ, जानकी मन्दिर र मनकामना मन्दिरजस्ता धार्मिक स्थलहरू केवल पूजा–आराधनाका स्थान मात्र होइनन्, यी त नेपाल चिनाउने अन्तर्राष्ट्रिय पहिचान हुन् । यी स्थानहरूलाई यदि सफा, हराभरा, अनुशासित र व्यवस्थित बनाउन सकियो भने नेपालले धार्मिक पर्यटनबाट दीर्घकालीन आर्थिक लाभ लिन सक्छ । तर दुःखको कुरा, यीमध्ये सबैभन्दा महत्वपूर्ण स्थल पशुपतिनाथ नै आज गम्भीर अव्यवस्था, लापरबाही र बेथितिको सिकार बनेको छ ।
पुर्खाहरूले घन ठोकेर, टाढा–टाढाबाट ढुंगा, काठ र धातु ल्याएर निर्माण गरेका मन्दिरहरू नेपाली कला, कौशल र संस्कृतिका अमूल्य धरोहर हुन् । करोडौँ हिन्दुहरूको आस्थाको केन्द्रका रूपमा रहेको पशुपतिनाथको आजको अवस्था देख्दा जो–कोही संवेदनशील नागरिकको मन पोल्नु स्वाभाविक हो । यही पीडाबाट प्रेरित भएर यो लेखमा पशुपतिनाथ क्षेत्रको विद्यमान बेथिति, अव्यवस्था र लापरबाहीको कारणहरूलाई स्पष्ट रूपमा प्रस्तुत गर्दै ‘पशुपतिनाथमा आजसम्म किन सुधार हुन सकेन ?’ भन्ने प्रश्नको उत्तर खोज्ने प्रयास गरिएको छ ।
पशुपतिनाथको ऐतिहासिक र अन्तर्राष्ट्रिय महत्व
पशुपतिनाथ मन्दिर युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत स्थल हो । यसको अर्थ, यो मन्दिर केवल नेपालको सम्पत्ति मात्र होइन, सम्पूर्ण मानव सभ्यताको साझा धरोहर हो । यो विश्वभरका हिन्दुहरूको आस्थाको केन्द्र हो, जहाँ नेपाल र भारत मात्र होइन, अमेरिका, युरोप, अस्ट्रेलियालगायतका देशबाट पनि श्रद्धालु तथा पर्यटकहरू आउने गर्छन् । कला, वास्तुकला र सांस्कृतिक मूल्यले भरिएको यो मन्दिर क्षेत्र नेपालको गौरव र पहिचानको प्रतीक हो ।
जताततै देखिने फोहर
पशुपतिनाथ क्षेत्रमा प्रवेश गर्नेबित्तिकै देखिने फोहर नै सबैभन्दा ठूलो समस्या हो । प्लास्टिकका झोला, फालिएका खानेकुराका अवशेष, जताततै छरिएका फोहर र दुर्गन्ध फैलिएको वातावरणले पर्यटकलाई निराश बनाउँछ । विश्व सम्पदा सूचीमा परेको स्थलमा यस्तो अवस्था हुनु राज्य, पशुपति क्षेत्र विकास कोष र सम्बन्धित निकायहरूको गम्भीर असफलता हो । पर्यटकले नेपालप्रति नकारात्मक धारणा बनाउने पहिलो छाप यहीँबाट सुरु हुन्छ, जसले दीर्घकालीन रूपमा पर्यटन क्षेत्रमा नकारात्मक असर पार्छ ।
माग्नेहरूको अनियन्त्रित बिगबिगी
पशुपतिनाथ क्षेत्रमा माग्नेहरूको अनियन्त्रित उपस्थितिले धार्मिक वातावरणलाई नै अशान्त बनाएको छ । श्रद्धालु र पर्यटकलाई जबरजस्ती घेराबन्दी गरेर पैसा माग्ने, बाटो छेक्ने, बालबालिकालाई प्रयोग गर्ने प्रवृत्तिले नेपालप्रति नकारात्मक सन्देश जान्छ । सामाजिक सुरक्षा, पुनःस्थापना र व्यवस्थापनको स्पष्ट नीति नहुँदा यो समस्या झन् जटिल बन्दै गएको छ ।
हरियाली र बगैँचाको दिगो अभाव
शिवरात्रिजस्ता ठूला पर्वमा पशुपतिनाथ क्षेत्रलाई अस्थायी रूपमा सजाइन्छ । तर पर्व सकिएपछि फेरि उही धुलो–मैलो, अस्तव्यस्त वातावरण फर्किन्छ । वर्षभरि फूल फुल्ने बगैँचा, हरियाली, नियमित सरसफाइ र सौन्दर्यीकरणको दिगो योजना नहुनु गम्भीर कमजोरी हो । धार्मिक स्थल शान्त, ध्यानयोग्य र प्राकृतिक सौन्दर्यले भरिएको हुनुपर्छ, तर पशुपतिनाथ क्षेत्रमा यसको अभाव स्पष्ट देखिन्छ ।
बागमती नदी : आस्था र वातावरणको द्वन्द्व
बागमती नदी पशुपतिनाथको आत्मा मानिन्छ । तर आज यही नदी अत्यन्तै प्रदूषित अवस्थामा छ । पशुपतिनाथबाट बागमती हेर्दा नदी होइन, नाली बगेको जस्तो देखिन्छ । दाह संस्कारपछि बगेका अवशेष, फोहर, प्लास्टिक र ढल मिसिएको पानीले नदीलाई नालीजस्तै बनाएको छ । मृत्यु संस्कार हिन्दु परम्पराको अभिन्न अङ्ग भए पनि, त्यसलाई पर्यावरणमैत्री र वैज्ञानिक रूपमा व्यवस्थापन गर्न सकिन्छ भन्ने चेतना अझै स्थापित हुन सकेको छैन । नेपाली र विदेशी पर्यटकका लागि यो दृश्य अत्यन्तै पीडादायी र झस्काउने हुन्छ । मर्ने मानिसले पनि सफा जल नपाउनु अत्यन्तै दुःखद् र लज्जास्पद विषय हो ।
साना मन्दिरहरूको दयनीय अवस्था
पशुपतिनाथ क्षेत्रभित्र रहेका धेरै साना–साना मन्दिरहरू लथालिङ्ग अवस्थामा छन् । कतै रंगरोगन छैन, कतै संरचना भत्किन थालेको छ । यी मन्दिरहरू पनि इतिहास, कथा र आस्थासँग जोडिएका महत्वपूर्ण संरचना हुन् । बाहिरबाट हेर्दा चिटिक्क हुनुपर्ने ठाउँमा फोहर देखिनु राष्ट्रिय बेइज्जतीकै प्रतीक हो ।
दर्शन प्रणालीमा सामाजिक असमानता
आज पनि पशुपतिनाथमा ‘जसको शक्ति उसको भक्ति’ भन्ने मानसिकता कायम नै देखिन्छ । पैसा तिर्नेले छिटो दर्शन पाउने, विशेष सुविधा पाउने तर आम जनता र साधारण पर्यटकले लामो लाइन बस्नुपर्ने अवस्था छ । फूल, प्रसाद र अबिरको जथाभावी प्रयोग गलत परम्पराका रूपमा फैलिएको छ । यो अभ्यास धार्मिक मूल्य, सामाजिक न्याय र पर्यटन व्यवस्थापन—सबै दृष्टिले अनुचित हो ।
मसानघाट वरिपरि फोहर र राजनीति
पशुपतिनाथमा लास जलाउँदा सरसफाइको नाममा शुल्क संकलन गरिन्छ, तर त्यसपछि घाट वरिपरि र नदीमा फोहर देखिनु अत्यन्तै दुःखद् कुरा हो । आस्था र अनुशासन सँगसँगै जानुपर्छ भन्ने कुरा यहाँ पूर्ण रूपमा बेवास्ता गरिएको छ । मसानघाटमा समेत राजनीति हुनु र सबै पक्षले आफ्नो जिम्मेवारी पूरा नगर्नु अचम्मकै विषय हो ।
शौचालय र पार्किङजस्ता आधारभूत समस्या
पशुपतिनाथ क्षेत्रमा पर्याप्त शौचालय छैनन् । भएका शौचालयहरूको अवस्था अत्यन्तै फोहोरी छ, भित्र पस्नसमेत मन लाग्दैन । भुइँमा टेक्नसमेत घिन लाग्छ । यसले महिला, वृद्ध र विदेशी पर्यटकलाई ठूलो समस्या पार्छ । पार्किङ स्थल पनि अत्यन्तै धुलो, मैलो र अव्यवस्थित छ । यस्ता आधारभूत पूर्वाधारको कमजोरीले सम्पूर्ण धार्मिक पर्यटन अनुभवलाई नकारात्मक बनाउँछ ।
जथाभावी बत्ती र सवारी साधनको अराजकता
मन्दिर वरिपरि जथाभावी बत्ती बाल्ने, मन्दिर क्षेत्रभित्रै मोटरसाइकल चलाउने, हर्न बजाउने र गति नियन्त्रण नहुनुले पशुपतिनाथको शान्त धार्मिक वातावरण नष्ट गरेको छ । धार्मिक स्थललाई स्वरमुक्त क्षेत्र बनाउनुपर्ने हो, तर यहाँ त्यसको ठीक उल्टो भइरहेको छ । यसको सट्टा भजन–कीर्तन, ध्यान र शान्त वातावरण आवश्यक छ ।
सुधार किन हुन सकेन ?
नेपालमा धेरै राजनीतिक परिवर्तन भए, धेरै नेतृत्वले विदेश भ्रमण गरे र विश्व सम्पदाको व्यवस्थापन कसरी गरिन्छ भन्ने उदाहरण पनि देखे । तर ती अनुभवलाई आफ्नै देशमा लागू गर्न नसक्नु नै सबैभन्दा ठूलो विडम्बना हो । बागमती सफा बनाउने नाममा धेरै प्रयास भए, तर आजसम्म अवस्था जस्ताको तस्तै छ । गौशाला, तिलगंगा, मित्रपार्कदेखि गौरीघाटसम्मको क्षेत्रलाई एकीकृत योजनामा सफा, हराभरा र अनुशासित बनाउन सकिन्थ्यो, तर अझै अस्तव्यस्त छ । राज्य, पशुपति क्षेत्र विकास कोष, स्थानीय सरकार, कर्मचारी, पूजारी, व्यापारी र नागरिक—सबैको साझा जिम्मेवारी हुँदाहुँदै पनि सबैले आ–आफ्नो दायित्वबाट पन्छिएको देखिन्छ । भाषण र कागजमा मात्र काम देखिन्छ, व्यवहारमा भने नतिजा देखिँदैन ।
निष्कर्ष, पशुपतिनाथ केवल भगवान् शिवको मन्दिर मात्र होइन, यो नेपालको अनुहार हो । नेपाललाई ‘पशुपतिनाथको देश’ भनेर चिनिन्छ । यहाँ देखिने व्यवस्थापनले नेपाल कस्तो देश हो भन्ने सन्देश भारतलगायत विश्वभर जान्छ । हिन्दुका लागि पशुपतिनाथ र जनकपुर, बौद्धका लागि लुम्बिनी, स्वयम्भूनाथ र बौद्धनाथ—यी सबैको व्यवस्थापनले नेपाललाई साँच्चिकै व्यवस्थित देशका रूपमा चिनाउन सक्छ । यदि साँच्चिकै नेपाल विकास गर्न चाहने हो भने, सुधारको सुरुवात पशुपतिनाथबाटै हुनुपर्छ । नत्र, विश्व सम्पदा सूचीमा नाम हुनु केवल गौरव मात्र हुनेछ, संरक्षण गर्न नसक्नु हाम्रो स्थायी लज्जा बन्नेछ र गलत सन्देश विश्वभर जानेछ ।
आशा गरौँ, अब सुतिरहेका आँखा खुल्नेछन्, बाँधिएका हात फुक्नेछन्, हराएको चेत फर्किनेछ र पशुपतिनाथ साँच्चिकै व्यवस्थित बन्नेछ । त्यससँगै विश्वभर ‘नेपालका मन्दिरहरू सफा, शान्त र हेर्नलायक छन्’ भन्ने सकारात्मक सन्देश जानेछ ।