काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को पूर्ण एमबीबीएस छात्रवृत्ति कपिलवस्तुका सचिन कुमार प्रजापति र चितवनकी भावना रेग्मीले पाएका छन् ।
चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालित सीईई परिक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूमध्ये उत्कृष्ट नतिजा हासिल गर्ने दुई जनालाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने निर्णय गरिएको संघले जनाएको छ । संघले आर्थिक रूपमा विपन्न तर शैक्षिक रूपमा सक्षम दुई जना नेपाली विद्यार्थीलाई पूर्ण एमबीबीएस छात्रवृत्ति प्रदान गर्ने औपचारिक घोषणा गरेको थियो । उक्त छात्रवृत्ति एसियन इन्टरनेसनल युनिभर्सिटी, उज्बेकिस्तानसँगको सहकार्यमा प्रदान गरिने भएको हो । गत मार्च महिनामा थाइल्यान्डमा सम्पन्न अन्तर्राष्ट्रिय युवा तथा पिएनो सम्मेलनका अवसरमा एनआरएनए र युनिभर्सिटीबीच दुई नेपाली विद्यार्थीलाई निःशुल्क एमबीबीएस अध्ययन गराउने विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको थियो । सोही समझदारीअनुसार छात्रवृत्ति कार्यक्रम कार्यान्वयनमा ल्याइएको हो ।
छात्रवृत्तिअन्तर्गत शैक्षिक शुल्क, होस्टल तथा भोजन खर्च, भिसा र बीमा शुल्कका साथै नेपालबाट उज्बेकिस्तान प्रारम्भिक यात्रा र अध्ययन सम्पन्नपछि नेपाल फर्किने एकपटकको हवाइ टिकट खर्च एसियन इन्टरनेसनल युनिभर्सिटीले व्यहोर्ने व्यवस्था गरिएको छ । अध्ययन अवधिमा कुनै परीक्षामा अनुत्तीर्ण भएमा छात्रवृत्ति स्वतः रद्द हुने र त्यसपछिका सम्पूर्ण खर्च विद्यार्थी स्वयंले व्यहोर्नुपर्ने व्यवस्था छ । साथै, छात्रवृत्ति प्राप्त विद्यार्थीहरूले अध्ययन पूरा गरेपछि नेपाल सरकारले तोकेको स्थानमा अनिवार्य रूपमा दुई वर्ष सेवा गर्नुपर्ने सर्त पनि राखिएको छ । यस छात्रवृत्ति कार्यक्रमलाई सफल बनाउन एनआरएनए आईसीसी सदस्य डा. किसान भण्डारीले महत्वपूर्ण भूमिका निर्वाह गरेको संघले जनाएको छ ।