काठमाडौं । नेपाल प्रहरीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि एक लाख ३३ हजार नौ सय ८० जना निर्वाचन प्रहरी (म्यादी) भर्ना खुला गरेको छ ।
प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई आवेदन दिन आह्वान गरेको हो । सूचनाअनुसार पुस २५ गतेदेखि माघ १ गतेसम्म ७७ वटै जिल्ला प्रहरी कार्यालयमार्फत १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको व्यक्तिले दरखास्त दिन सक्नेछन् । नेपाली नागरिक, साधारण लेखपढ गर्न जान्ने, कुनै फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, भर्नाका समयमा कुनै राजनीतिक दलको सदस्य नरहेको, शारीरिक तथा मानसिक रूपमा स्वस्थ तथा आतंक्कारी वा विध्वंसात्मक सङ्गठनसँग सम्बन्ध नरहेका व्यक्तिले आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।
केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालबाट सेवा निवृत्त पूर्वसुरक्षाकर्मी, पूर्ववन रक्षक तथा हालै भर्नाका लागि शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षण उत्तीर्ण भएका व्यक्तिलाई प्राथमिकतामा राखेर निर्वाचन प्रहरी छनोट गरिने बताए । यसअघि प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तह निर्वाचनमा म्यादी प्रहरीका रूपमा सन्तोषजनक कार्यसम्पादन गरेका व्यक्ति तथा विदेशी मित्रराष्ट्रका सुरक्षा निकायबाट सेवा निवृत्त नेपाली नागरिकलाई पनि निर्वाचन प्रहरीमा छनोट गरिने प्रहरीले जनाएको छ । कार्यतालिकाअनुसार माघ ५ देखि ९ गतेसम्म प्रारम्भिक छनोट गरिनेछ भने अन्तिम नतिजा माघ १२ गते सार्वजनिक हुनेछ । छनोट भएका निर्वाचन प्रहरीलाई माघ १५ देखि २४ गतेसम्म तालिम प्रदान गरिनेछ ।
निर्वाचन प्रहरीको कार्यावधि नियुक्ति मितिदेखि ४० दिन वा नेपाल सरकारले तोकेबमोजिम हुनेछ । निर्वाचनको समयावधिका आधारमा कार्यअवधि हेरफेर हुन सक्ने सूचनामा उल्लेख छ । सरकारले निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी एकीकृत कार्यविधि २०८२ स्वीकृत गरिसकेको छ । निर्वाचन प्रहरीले नेपाल प्रहरी जवानको प्रारम्भिक तलब स्केलअनुसार प्रतिदिन आठ सय ६९ रुपैयाँ ४० पैसाका दरले ४० दिनको लागि ३४ हजार सात सय ७६ रुपैयाँ पाउनेछन् । साथै, सम्बन्धित जिल्लाअनुसार खाद्यान्न बापतको रकम, एकमुष्ट तयारी खर्च आठ सय ४६ रुपैयाँ, चार दिनका लागि खाजा खर्च एक हजार दुई सय रुपैयाँ तथा पोसाकबापतको रकम पनि उपलब्ध गराइने छ । साथै सो क्रममा निर्वाचन प्रहरी घाइते भएमा वा मृत्यु भएको अवस्थामा सरकारले तोकेबमोजिम क्षतिपूर्ति प्रदान गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।