काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नवौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले बिहीबार सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालको सभाध्यक्षतामा काठमाडौँमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
सभाले सामान्य प्रस्तावअन्तर्गत आर्थिक वर्ष २०८१/०८२को सञ्चालक समितिको प्रतिवेदन, आर्थिक वर्ष २०८१/०८२ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र तत्सम्बन्धित अनुसूचीसहितको वित्तीय विवरण पारित गरेको छ । वित्तिय विवरण सँगै उक्त सभाले आव २०८२÷०८३ को लागि कम्पनीको बाह्य लेखापरिक्षक नियुक्त गरी निजको पारिश्रमिकसमेत निर्धारण गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।
सभाले कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम आर्थिक वर्ष २०८१/०८२ को वितरण योग्य नाफाबाट कम्पनीको तत्काल कायम रहेको चुक्ता पुँजीको १० दशमलव पाँच प्रतिशतका दरले हुने ५२ करोड ६३ लाख १५ हजार सात सय ८९ रुपैया नगद नगद लाभांश (कर प्रयोजनसमेतको लागि) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । विशेष प्रस्तावअन्तर्गत सभाले कम्पनीको प्रबन्ध–पत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरबदलको निर्देशन प्राप्त भएमा सोहीअनुसार फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरको छ भने सभाले आर्थिक वर्ष २०८१/०८२ मा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीबाट भएको खर्चहरू अनुमोदन गरेको छ ।
सभाध्यक्ष तथा सञ्चालक समितिका अध्यक्ष डा. अर्यालले सभामा बोल्दै कम्पनीको उन्नती र प्रगतिमा निरन्तर अमूल्य सुझाब र सहयोग गर्ने सेयरधनीहरू, सञ्चालक समितिका सदस्यहरू, कम्पनी प्रति विश्वास र भरोसा गर्ने समस्त बीमितहरू, नियमनकारी निकायहरू, पुनर्बीमा कम्पनीहरू, कम्पनीका कर्मचारीहरू, मेरुदण्डका रूपमा रहेका अभिकर्ताहरू, बैंक तथा वित्तीय संस्थाहरू एवम् अन्य शुभेच्छुकहरू सबैप्रति हार्दिक कृतज्ञता व्यक्त गरे ।