काठमाडौं । एनआईसी एसिया बैंकले कर्मचारीमाथि भएको अभद्र व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बैंकको इटहरी शाखामा कलुषित मनसायका साथ प्रवेश गरी बैंकमा कार्यरत कर्मचारीमाथि गालीगलौज गर्दै अभद्र व्यवहार गरी शाखा कार्यालयमा अराजक गतिविधि गरेको घटनाप्रति बैकले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
बैंक जस्तो संवेदनशील र अत्यावश्यक सेवा प्रवाह गर्ने स्थानमा गरिने यस्ता कुनै पनि गैरकानुनी तथा उच्छृङ्खल गतिविधि स्वीकार्य नहुने र यस्ता गतिविधिबाट बैंकमा कार्यरत कर्मचारीहरूसँगै समग्र बैंकिङ्ग क्षेत्रमै असुरक्षित वातावरण सिर्जना भएको छ । बैंक कार्यालयभित्र हुलहुज्जत तथा होहल्ला गर्ने, आगजनी तथा जिउज्यानमा हानी पु¥याउने उद्देश्यका साथ पेट्रोल जस्तो अति प्रज्वलनशिल पदार्थ छर्कने जस्ता कानुनद्वारा वर्जित गम्भीर क्रियाकलापबाट मुलुकको आर्थिक विकासमा ठूलो योगदान पुर्याइरहेको बैंकिङ्ग क्षेत्रलाई नै नकारात्मक असर पार्ने र काम गर्ने वातावरणमा समेत गम्भीर असर पुगेको हुँदा कर्मचारीले असुरक्षा महसुस गरिरहेको अवस्था छ ।
कुनै पनि बहानामा कर्मचारीमाथि हुने यस्ता अभद्र व्यवहार सैह्य नहुने हुँदा उक्त घटनामा संलग्न व्यक्ति उपर सम्बन्धित निकायले आवश्यक अनुसन्धान गरी प्रचलित कानुनबमोजिम कारबाही गर्न र बैंक तथा बैंकमा कार्यरत कर्मचारीहरूको शान्ति सुरक्षा कायम गर्न गराउन सम्बन्धित निकायसँग यस बैंकले हार्दिक अनुरोध अनुरोधसमेत गरेको छ ।