काठमाडौं । एनएमबी बैंकको ३०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकले संचालक समितिका अध्यक्ष, सञ्चालक र सेयरधनीहरूको उपस्थितिमा बिहीबार, काठमाडौँमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
एनएमबी बैंकको सञ्चालक समितिका अध्यक्ष, मनोज कुमार गोयलको सभापतित्वमा उक्त साधारणसभा सम्पन्न गरिएको छ । सो अवसरमा सहभागी सेयरधनीहरूले आ–आफ्नो मन्तव्य व्यक्त गर्दै बैंकका विविध पक्षमाथि छलफल गरेका थिए ।
सभाले आर्थिक वर्ष २०८१/८२को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको पाँच प्रतिशत बोनस सेयर र पाँच प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै, बैंकले २०८२ आषाढ मसान्तसम्ममा दुई अर्ब ८५ करोड खुद नाफा आर्जन गर्नुका साथै दुई खर्ब ८३ अर्ब ६५ करोड रुपैयाँ निक्षेप संकलन गरी दुई खर्ब ४३ अर्ब तीन करोड रुपैयाँ कर्जा प्रवाह गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
बैंकले हाल देशभरी दुई सय दुई वटा शाखा, एक सय ८४ वटा एटीएम र नौवटा एक्सटेन्सन काउन्टरहरूमार्फत बैंकिङसेवा प्रदान गर्दै आइरहेको छ ।