काठमाडौं । स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन)को १५औँ वार्षिक साधारणसभा काठमाडौैंमा हुने भएको छ । संघले आगामी शनिबार वार्षिक साधारणसभा गर्न लागेको हो ।
संघले मुुलुकको समग्र आर्थिक विकासमा शैक्षिक परामर्श संस्थाहरूले प्रत्यक्ष वा अप्रतक्ष्यरूपमा पुर्याएको योगदानको विषयमा छलफल गरी मुलुकको वर्तमान अवस्थामा शैक्षिक परामर्श संघको भूमिकाका विषयमा खाका तयार गर्ने रणनीति बनाएको छ । यसैगरी सभाले शैक्षिक परामर्श संस्थाहरूले मुलुकको समग्र अर्थतन्त्रमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै सरकारले शैक्षिक परामर्श संस्थाहरूलाई उद्योगको रूपमा परिभाषित गरी सोहीअनुसारको नीतिगत सहुलियत दिनुपर्ने आवाजलाई पनि वार्षिक साधारणसभामार्फत उठाउने तयारी संघले गरेको छ ।
‘संघले शैक्षिक परामर्श संस्थाहरूले प्रत्यक्ष वा अप्रतक्ष्यपमा सिंगो मुलुकको शिक्षा, स्वास्थ, रेमिट्यान्सलगायतका क्षेत्रमा पुर्याएको योगदान, शैक्षिक परामर्श संस्थासँगै जोडिएर आउने अन्य विषयहरूलाई समेत राज्यले गहिरोसँग बुझेर शैक्षिक परामर्श क्षेत्रलाई उद्योगको रूपमा परिभाषित गर्नुपर्छ’, संघका अध्यक्ष उमेश कुश्वार भन्छन् ।
अध्यक्ष कुश्वारका अनुसार सोही सभामार्फत संघले आगामी मार्चमा जापानमा पहिलो शैक्षिक परामर्श संस्थाहरूको सम्मेलन गर्नै ऐजन्डालाई पनि पारित गर्ने तयारी गरेको छ । उक्त सम्मेलनमा एक सयभन्दा बढी शैक्षिक परामर्शसँग सम्बन्धित संस्था, विभिन्न देशका विश्वविद्यालयहरू एवं सरोकारवाला अन्य निकायहरूको समेत सहभागिता रहनेछ । यसबाहेक सभाले राजधानी काठमाडौंमा फेकन मेगा एजुकेसन फेयर २०२६ गर्ने समेतको प्रस्ताव पारित गर्ने तयारी गरेको छ । अध्यक्ष कुश्वारका अनुसार स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन)ले आगामी जुनभित्रमा उक्त मेला आयोजना गर्ने गरी तयारी थालेको छ । दुई दिनसम्म चल्ने उक्त मेलामा शैक्षिक परामर्श संस्थाहरू, बैंक तथा फाइनान्स कम्पनी, स्वदेशी तथा विदेशी कलेजहरू, त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालयसहितका धेरै संस्थाहरूलाई सहभागी गराउने तयारी भइरहेको उनले बताए ।
‘उपत्यकामा यसअघि पनि विभिन्न किसिमका शैक्षिक मेलाहरू भएका छन, तर यो मेला तीभन्दा विल्कुलै फरक र बृहत् छ’, फेकनका अध्यक्ष उमेश कुश्वार भन्छन् । विभिन्न संघसंस्थाहरूको पाँच सयभन्दा बढी स्ट्रल रहने यो मेला स्वदेशमा तथा विदेशमा अध्ययन गर्न चाहाने आम विद्यार्थी, विद्यार्थीका अभिभावक सबैलाई शिक्षासम्बन्धी वर्तमान आवश्यकताअनुसारको सही परामर्श सेवा दिने उद्देश्यले मेला आयोजना गर्न लागेको उनको भनाइ छ । उक्त मेला मनोरञ्जन, जानकारी र विशेष खानाका स्वादहरू एकसाथ पस्किने गरी हुन लागेको र मेलामा स्टडी इन एब्रोड, स्टडी इन नेपाल, फुड फेस्टिबल र अहिलेका बहुचर्चित कलाकारहरूको सांगीतिक तथा अन्य प्रस्तुति रहने अध्यक्ष कुश्वारले जानकारी दिए ।