काठमाडौं । नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले २२औँ एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड पर्यटकीय नगरी पोखरामा भव्य समारोहका बीच सम्पन्न गरेको छ । पोखरामा आयोजित समारोहमार्फत सन् २०२५ भरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली खेलकुदको प्रतिष्ठा उँचो बनाएका खेलाडी, प्रशिक्षक तथा खेलकुद क्षेत्रसँग आबद्ध विभिन्न व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको हो ।
काठमाडौंबाहिर पहिलो पटक आयोजना गरिएको यस संस्करणमा ११ विधामा अवार्ड वितरण गरिएको थियो । यसवर्षको वर्षका उत्कृष्ट पुरुष खेलाडीको उपाधि दीपेन्द्रसिंह ऐरीले प्राप्त गरे । ऐरीलाई गोल्छा समूहका निर्देशक अभिमन्यु गोल्छाले अवार्ड तथा पुरस्कार प्रदान गरे । त्यसैगरी, कराते खेलाडी एरिका गुरुङ वर्षकी उत्कृष्ट महिला खेलाडी घोषित भइन् । अवार्ड जित्न सफल दिपेन्द्र सिंह ऐरीले पल्सर एनएस टु हन्ड्रेड एबीएस मोटरसाइकल जितेका हुन ।
पल्सर स्पोट्र्स अवार्डलगायत बजाजले नेपाली खेलकुद क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । बजाजले वर्षेनी एनएसजेएफ पल्सर स्पोट्स अवार्डमार्फत खेलाडी, प्रशिक्षक तथा खेलकुदकर्मीहरूको सम्मान र हौसला बढाउँदै आएको छ । कार्यक्रममा वरिष्ठ खेलाडी खड्गबहादुर रानाभाटलाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो भने स्पेशल अवार्ड वरिष्ठ खेल प्रशिक्षक तुलसी कुमार गुरुङलाई प्रदान गरिएको थियो । अन्य विधाअन्तर्गत पिपुल्स च्वाइस अवार्ड, वर्षका उत्कृष्ट युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, पारा–एथलेटिक्सतर्फका उत्कृष्ट खेलाडी, तथा विभिन्न खेल विधामा उल्लेखनीय प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि सम्मान गरिएको थियो ।
सम्मानित खेलाडीहरूमा एनएसजेएफ ट्रेलब्लेजर अफ द इयर–पलेशा गोवर्दन (पारा तेक्वान्दो), वर्षका उत्कृष्ट खेलाडी (पुरुष) दीपेन्द्र सिंह ऐरी–क्रिकेट, वर्षकी उत्कृष्ट खेलाडी (महिला) एरिका गुरुङ–कराते, वर्षका उत्कृष्ट प्रशिक्षक कबिराज नेगी–पारा तेक्वान्दो, वर्षका उत्कृष्ट युवा खेलाडी, पूजा महतो–क्रिकेट, पिपुल्स च्वाइस अवार्ड हिमाल सुनारी–भलिबल, पारा खेलाडी सम्मान–प्रवा आङ्दाम्बे–पारा खेलाडी, विशेष पुरस्कार–तुलसी कुमार गुरुङ, लाइफटाइम एचिभमेन्ट अवार्ड–खड्ग रणावत–खेलाडी, वर्षको उत्कृष्ट टोली–खो–खो (पुरुष/महिला), एसियाली खेलकुद पत्रकार पुरस्कार–राना हसन हुन् ।