काठमाडौँ । गृह मन्त्रालय र बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रुपमा आयोजना भइरहेको बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारमा बस्ने मन्त्रीहरुलाई कुनै दलप्रति ढल्कने छुट नभएको बताएका छन् ।
वर्तमान सरकारको ‘म्यान्डेट’ तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नु रहेको बताउँदै मन्त्री अर्यालले सरकार निर्वाचनमा होमिइसकेकाले तोकिएको मितिमा नै निर्वाचन हुनेमा शङ्का नगर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरे ।
सुशासन कायम राख्न सरकार कटिबद्ध भएको बताउँदै मन्त्री अर्यालले जेनजी आन्दोलन सुशासन कायमका लागि भएको उल्लेख गरे । मन्त्री अर्यालले सरकारले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्ने र सरकारले गरिरहेका काम सम्बन्धमा हौसला प्रदान गरी सरकारको मनोबल बढाइदिन सम्बन्धित सबैपक्षलाई आग्रह गर्दै तोकिएको मितिमा निर्वाचन नभएमा देशले सङ्कट सामना गर्नुपर्ने अवस्था आउनसक्ने बताए ।