काठमाडौं । गत पुस १५ गते राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद बन्नेहरूको बन्दसूची सार्वजनिक गरेको थियो । सो सूचीमा खस आर्यतर्फबाट पहिलो नम्बरमा थिए, चन्द्र ढकालका पुत्र सचिन ढकाल ।
उत्पीडित खस आर्यको कोटाबाट छानिनुपर्ने समानुपातिक सूचीमा अर्बपति ढकालका पुत्रको नाम सार्वजनिक भएपछि चौतर्फी आलोचना भयो । आलोचनाकै बीचबाट ढकालले आफ्नो नाम फिर्ता लिएको घोषणा गरिसके । तर, ढकाललाई समानुपातिक सूचीमा राखेकै दिन उनकै स्वामित्व रहेको लाजिम्पाटस्थित होटल ले हिमालयमा भएको एउटा भेटघाट भने अहिलेसम्म गोप्य राखिएको छ ।
गत पुस १५ गते साँझ ५ बजेतिर ढकालको उक्त होटलमा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डिपी अर्याल पुगेका थिए । डिपीलाई भेट्न गोप्यरूपमा सरकारका प्रवक्ता, सूचना प्रविधि तथा सञ्चार मन्त्री जगदिश खरेल पनि पुगेका थिए ।
होटलको माथिल्लो तलामा गोप्यरूपमा मन्त्री खरेल र अर्यालबीच वार्ता भएको थियो । जेन–जी आन्दोलनपछि बनेको नागरिक सरकारमा आफूलाई स्वतन्त्र नागरिक भन्दै सञ्चार मन्त्री नियुक्त भएका खरेल नेपाली कांग्रेसको दोलखास्थित क्रियाशील सदस्य थिए ।
यद्यपि उनी जेन–जी सरकारमा स्वतन्त्र भन्दै मन्त्री बनेका थिए । तर, उनै मन्त्री खरेल नागरिक सरकारको धज्जी उडाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति अर्याललाई होटलको कोठा–कोठामा गोप्यरूपमा पुगेको घटना गुपचुप राखिएको छ ।
त्यतिमात्रै होइन खरेल तिनै मन्त्री हुन्, जसले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा समावेश हुने काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको निर्णयबाट सार्वजनिकरूपमा खुसी व्यक्त गरेका थिए ।
ऊर्जामन्त्री कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा नियुक्ति पाएको सार्वजनिक भएपछि मन्त्री खरेलले नै घिसिङ औपचारिकरूपमा रास्वपामा गएको आफूहरूले थाहा नपाएको अभिव्यक्ति दिएर आलोचित भएका थिए । खरेल रास्वपा ललितपुरबाट निर्वाचन लड्ने चर्चामा छन् ।