जेन–जी प्रदर्शनबाट खडाभएको सरकारले गरेको भनिएको र ऊ आफैँले बहुप्रचारमा ल्याएको भनिएको एउटा मुख्यकाम भनेको रुग्ण योजनाको ठेक्का तोड्नु हो । यदि यो असल नियतले गरिएको हो भने यसलाई राम्रो पनि मान्नुपर्छ । तर कतिपयले यसलाई नयाँ मन्त्रीले नयाँ ठेक्का लगाएर चुनावी खर्चको जोहो गर्ने रणनीतिअन्तर्गतको काम भनेर आलोचना पनि गरिरहेका छन् । कतिपय घटनाले त्यस्तो देखाउँछ पनि । यो सरकार आफैंले चलिरहेको संसद्को विघटन गरेर मध्यावधिमा गएको हो । यसको अर्थ हो देशमा चुनाव हुदैँछ । अर्कोतर्फ यो सरकारलाई नागरिक सरकार भनियो । तर सरकारमा गएदेखि नै सम्बन्धित मन्त्री आफैँ चुनावमा होमिएको देखियो । उनकै संरक्षकत्वमा राजनीतिक दल खुल्यो । गठबन्धन गरियो । समानुपातिकमा राजनीतिक प्रेरित मानिएको सहभागिता जनाइयो र प्रधानमन्त्रीले उनको राजीनामा माग्दा आफू केही दिन अझै बस्ने, आफू नभए आफूले सिफारिस गरेको मान्छेले यो मन्त्रालय पाउनुपर्ने भन्ने अडान लिए । यही बेला यता देशमा चुनावको आचार संहिता लागेको अवस्था बन्यो भने उता तोडिएका ठेक्काहरू लगाउने काम सुरु गर्न लागियो ।
उल्लिखित विवरणहरूले कतै रुग्ण आयोजनाका नाममा आफ्नो स्वार्थ सिद्ध गर्ने उद्योग चलाइएको हो कि भन्ने शंका गर्ने ठाउँ बने । त्यसमाथि करिब चार दशकदेखि थालिएर निर्माण अधुरै रहेका आयोजना आफ्नालाई सहयोग गर्ने ध्येयले रुग्णमा नपारिएको हो कि भन्ने आरोप पनि लाग्न थाल्यो । सिक्टा सिँचाइ आयोजना । यो आयोजनाले आफ्नो थालनीको करिब चार दशक पार गर्दैछ । तर यो आयोजना रुग्णमा परेन । राष्ट्रिय गौरवको परियोजना रहेको यो सिँचाइ आयोजना यतिबेला सुरु भएको समयको हिसाबले चार दशक पार गर्न लाग्दा यता यसको कुल भौतिक प्रगति भने ४४ दशमलव २३ प्रतिशत र वित्तीय प्रगति ४३ दशमलव ३३ प्रतिशतमा सीमित रहेको अवस्था छ । यो आयोजना अरू सबै काम सकेर आर्थिक वर्ष २०६१/६२मा सुरु भएको थियो । चालु वर्ष आयोजनाको भौतिक काम सुरु भएको नै २० वर्ष कट्न लागेको अवस्थामा यतिबेलासम्म प्रगति भने आधाभन्दा कम अर्थात् जम्मा ४४ दशमलव २३ प्रतिशत मात्रै भौतिक प्रगति हुनुभनेको रुग्णभन्दा पनि महारुग्ण अवस्था नै हो । तर यो आयोजनाको कामको प्रगति खोज्नेतर्फ यी मन्त्रीको ध्यान नै गएन । यता आयोजनको लागत संशोधन हुँदाहुँदै ५३ अर्बको हाराहारीमा पुगेको छ । अब त यो आयोजना सम्पन्न हुन कति रकम लाग्छ, विज्ञहरूले समेत अनुमान गर्न नसक्ने अवस्थामा पुगेको छ ।
जेन–जीका मन्त्रीसँग प्रश्न हो, यस्तो आयोजना किन रुग्णमा परेन ? लागतकै हिसाबमा पनि यो सबभन्दा महँगो बन्दै गएको छ । यसका विवरणहरूले के देखाउँछन् भने, सुरुमा अनुमान गरिएको भन्दा धेरैगुणा वृद्धि भइसकेको छ । जस्तो आव २०६१/६२मा यसको लागत सात अर्ब ४५ करोड अनुमानित थियो । आयोजनाको भौतिक निर्माण सुरुभएको दुई दशक बित्दा तीनपटक लागत अनुमान संशोधित भयो । त्यहीअनुसार पछिल्लो समय ५२ अर्ब ८९ करोड पुगेको हो । वि सं २०६४ मंसिर ३ गते पहिलो पटक लागत संशोधन गरेर १२ अर्ब ८० करोड, आव २०७१/७२मा २५ अर्ब दुई करोड हुँदै पछिल्लो समय लागत संशोधन गर्दै ५२ अर्ब ८९ करोड पुर्याइएको देखिन्छ । यस्तो आयोजना रुग्णको सूचीमा पर्र्दैन भने, अरु आयोजनानको रुग्णतामाथि पनि प्रश्न उठ्ने भयो नै । त्यहाँदेखि यो बेलासम्म आइपुग्दा डेढदर्जन जति सरकार फेरिए । पुराना सरकारका गलत काम सच्याउँन लायक थिए नै । तर यो ठाउँमा किन सच्याउन आवश्यक ठानिएन भन्ने प्रश्नको जेन–जीका सम्बन्धित मन्त्रीले जवाफ दिऊन् । यदि यो प्रश्न निरुत्तरित रहृयो भने नियतमाथि शंका गर्ने ठाउँ बन्छ ।