काठमाडौं । ‘साना किसानको समृद्धि : कृषिको रुपान्तरण र उद्यमशीलताको विकास’ भन्ने नाराका साथ स्थापित साना किसान विकास वित्तीय संस्था लिमिटेडले १४ दशमलव २५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ । शुक्रबार काठमाडौँमा सम्पन्न संस्थाको २४औँ वार्षिक साधारणसभाले सो निर्णय गरेको हो ।
‘संस्थाको २४औँ वार्षिक साधारणसभामा सेयरधनीहरूलाई लगानीको प्रतिफल स्वरुप बोनस सेयर १४ दशमलव २५ प्रतिशत र कर प्रयोजनका लागि नगद लाभांश ०.७५ प्रतिशत उपलब्ध गराउने प्रस्ताव पारित भएको छ ।’ साधारणसभापछि जारी प्रेसविज्ञप्तिमा भनिएको छ । आगामी दिनहरूमा अझै उच्च प्रतिफल दिने गरी वित्तीय संस्थाको व्यवसाय अघि बढाउन वित्तीय संस्था प्रतिबद्ध रहेको पनि स्पष्ट पारेको छ ।
संस्थामा देशका ७७ जिल्लाका पाँच सय ४६ स्थानीय तहहरूमा एक हजार चार सय ६३ साझेदार संस्था आबद्ध रहेका छन् । आबद्ध सहकारी संस्थाहरूले ८८ अर्ब ८४ करोड ४९ लाख रुपैयाँ बराबरको आन्तरिक पुँजी निर्माण गरी परिचालन गरेका छन् । वित्तीय संस्थाले आव २०८१/८२ को अन्त्यसम्ममा कुल नौ लाख ४१ हजार सात सय ३१ साना किसान परिवारलाई लघुवित्त सेवा पुर्याउन सफल भएको छ । जसमध्ये दलित १० दशमलव ९२ प्रतिशत, जनजाति ४२ दशमलव २१ प्रतिशत र अन्यको ४६ दशमलव ८७ प्रतिशत रहेकोमा महिला सहभागिता ८२ प्रतिशत रहेको संस्थाको दाबी छ ।
आव २०८१/८२ मा यस वित्तीय संस्थाको जारी र चुक्ता पुँजी चार अर्ब ३१ करोड २६ लाख २१ हजार रुपैयाँ, कुल सम्पत्ति ४१ अर्ब ५० करोड ४९ लाख ७३ हजार रुपैयाँ पुगेको संस्थाले जनाएको छ । प्रति सेयर आम्दानी २०.२९, प्रति सेयर बुक नेटवर्थ २३९.३८ रुपैयाँ, जम्मा पुँजीमा प्रतिफल ८.४८ प्रतिशत, मूल्य आम्दानी अनुपात ४३.४० र कुल पुँजी कोष १६.०२ प्रतिशत रहेको प्रमुख कार्यकारी अधिकृत बाशु अधिकारीले जानकारी दिए । उनले भने, ‘वित्तीय संस्थाले आफूसँग आबद्ध संस्थाहरूलाई २०८२ आषाढसम्म २३ अर्ब एक करोड ८४ लाख लगानी र २४ अर्ब ८४ करोड ८५ लाख ऋण असुल गरेको छ भने लगानीमा रही रहेको ऋण ३५ अर्ब ९० करोड ७३ लाख रुपैयाँ रहेको छ ।’
संस्थाले नेपाल सरकारको ऋण सहयोगमा १५ वर्ष अघिदेखि सहुलियतपूर्ण पशुपालन तथा तरकारी खेती कर्जा कार्यक्रम सञ्चालन गर्दै आएको छ । जसअन्तर्गत २०८१/८२ को अन्त्यसम्म कुल एक लाख ६९ हजार पाँच सय किसानहरूलाई १८ अर्ब ३८ करोड रुपैयाँ मासु तथा दुग्धजन्य पशुपालन र १७ हजार पाँच सय किसानहरूलाई दुई अर्ब २२ करोड ६० लाख रुपैयाँ तरकारी खेती कर्जा लगानी गर्ने लक्ष्य राखेको थियो । जसमा दुई लाख ८५ हजार तीन सय ७२ जना किसानलाई ४३ अर्ब ८० करोड ९२ लाख पशुपालन कर्जा र १८ हजार एक सय दुई जना साना किसानलाई तीन अर्ब नौं करोड ५२ लाख रुपैयाँ तरकारी खेती कर्जा प्रवाह भएको छ । सो रकमबाट किसानहरूले बाख्रा, बङ्गुर, पाडापाडी, भैँसी र गाईजस्ता १७ लाख ७९ हजार ७० पशुवस्तु पालन र १० हजार बिघाभन्दा बढी क्षेत्रफलमा तरकारी खेती गरेको कार्यकारी अधिकृत अधिकारीले जानकारी दिए । यस कार्यक्रमका माध्यमबाट वार्षिक रूपमा झण्डै सात अर्बको हाराहारीमा र हालसम्म ७३ अर्ब भन्दाबढीको मासु तथा दुग्धजन्य पदार्थ र तरकारीको उत्पादन भएको उनको भनाइ छ ।
आर्थिक वर्ष २०७७/७८देखि बागमती प्रदेश सरकारको ऋण सहयोगमा उत्पादन तथा रोजगारीका लागि सहुलियतपूर्ण कर्जा कार्यक्रम पनि सञ्चालनमा ल्याएको अधिकारीले जानकारी दिए । संस्थाबाट ऋण बाहेकका साना किसान सहकारी संस्थाहरूमार्फत पशुधन सुरक्षण÷पशुपालन प्रवर्द्धन, सामाजिक तथा सामुदायिक, कृषि वित्त÷वित्तीय साक्षरता÷क्षमता अभिवृद्धि, उद्यमशीलता विकासजस्ता तालिम÷गोष्ठी, सुधारिएको चुलो कार्यक्रम र साना किसान सहकारी अनुशरण जस्ता कार्यक्रमहरू सञ्चालन हुँदै आएको छन् । विभिन्न परियोजनाका लागि, आईएफएडी, सीप र समृद्धि, भ्एऋ जस्ता संस्थाहरूको सहकार्यमा साझेदार संस्थाहरूको क्षमता विकास र युवाहरूको सहभागिता अभिवृद्धि कार्यक्रम सञ्चालन भइरहेको संस्थाले जनाएको छ ।
युवाहरूलाई इजरायलमा आधुनिक कृषि तालिमको व्यवस्था गरी हालसम्म ३१ सय ६१ जनाले तालिम सम्पन्न गरेका छन् । यो कार्यक्रम, नेपालको कृषिको व्यवसायिकरणमा कोशेढुङ्गा हुने अपेक्षासहित निरन्तरताको लागि वित्तीय संस्था प्रयासरत रहेको पनि जनाएको छ । आर्थिक वर्ष २०७६/७७ देखि कोरोना महामारीका कारण यो कार्यक्रम सुचारु हुन सकेको छैन । संस्थाले एसियाली विकास बैंकको ऋण सहयोग र नेपाल सरकारसँगको सहकार्यमा कृषिमा युवा तथा स्तरोन्नती भएका साना किसानहरूलाई लक्षित गरी कृषि उत्पादन, प्रशोधन र बजारीकरण कार्यमा संलग्न गराउन ग्रामीण उद्यम परियोजना सञ्चालन गरेको छ । कृषि मूल्यश्रृङ्खला अभिवृद्धिमार्फत किसानलाई बीउविजत वितरण उत्पादनको प्रशोधन, भण्डारण र बजारीकरणमा सहयोग गर्दै आएको छ । ‘यसअन्तर्गत २०८२ असार मसान्तसम्म सामूहिक तर्फ ४७ वटा परियोजना र व्यक्तिगत तर्फ दुई हजार चार सय ९६ गरी कुल दुई हजार पाँच सय ४३ वटा उद्यम सञ्चालन भई पाँच अर्ब ४९ करोड ४४ लाख ३७ हजार लगानी भएको छ’, प्रमुख कार्यकारी अधिकृत अधिकारीले जानकारी दिए ।
पारदर्शीता, व्यावसायिक कुशलताका साथसाथै संस्थागत जवाफदेहिताले हाम्रो कार्यगर्ने शैलीमा समयअनुसार प्रविधिको प्रयोग, उत्पादनमुखी व्यवसाय र त्यसबाट बढीभन्दा बढी साना किसानहरूले कम लागतमा पुँजीको प्रतिफल लिन सकून् भन्ने अठोट रहेको पनि संस्थाले जनाएको छ ।