राजनेताहरूको विश्वसनीयताको परीक्षण हुने भनेकै उनीहरूका बोलीबचनबाट हो । एउटै विषयमा जब उनीहरूका बोली अनुकूलता हेरेर केही समयको अन्तरमा नै वारका पार अर्थात् विल्कुलै विपरीत हुनेगरी प्रकट हुन्छन् भने तिनले कुनै पनि बेला देश र दुनियाँलाई ठूलो धोका दिन पछि पर्दैनन् भन्ने सन्त्रास खडा हुन्छ ।
यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ शक्तिको नेतृत्व गरिरहेको वा गर्न अग्रसर भएको दल हो । यसका नेता अर्थात् सभापति हुन्, रवि लामिछाने । उनी आफैँ सहकारी ठगी सम्बन्धमा किनारा लागिनसकेको ठूलो फौजदारी अभियोगका अभियुक्त हुन् भने उनले आफ्नो संगठनको विस्तार गर्ने सन्दर्भमा अरु जघन्य अपराधकर्मीहरूलाई जसरी आफ्नो दलमा स्वागत गरिहेका छन् त्यसले परिवर्तन खोजिरहेको समाजमा कस्तो शासन दिन खोजिँदै छ भन्ने गम्भीर प्रश्न खडा गरेको देखिन्छ ।
रविले केही पहिले जसलाई गम्भीर अर्थात् जघन्य अपराध भनेर परिभाषा गरेका थिए तिनैलाई अहिले यो वा त्यो बहानामा अथवा शब्दमा सुनपानी छर्किएर आफ्नो दलमा प्रवेश गराउँदै छन् जसले एउटै विषयमा एउटै नेताका आफ्नो स्वार्थअनुसारका दुई मान्यता रहेको देखाउँछ ।
यो सन्दर्भ हो, केही वर्षअघिको टीकापुर हत्याकाण्ड । त्यो काण्डका रचयितासँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिले पुस २१ मा राजनीतिक सम्झौता गरेर आफ्नो दलमा प्रवेश गराउँदै ‘देशमा सुसंस्कृत राजनीतिक अभ्यासको जग’ बसको भनेर घोषणा गरे । अब रविका लागि टीकापुर हत्याकाण्ड ‘जघन्य अपराध’ रहेन ।
यो अपराधका रचयिता अर्थात् टीकापुर हत्याकाण्डका प्रमुख अभियुक्त लक्ष्मण थारुसहितका केही थरुहट नेतालाई पार्टी प्रवेश गराउने क्रममा रास्वपाले गरेको सम्झौताको पाँचौँ बुँदामा लेखिएको छ–
‘टीकापुर घटनालाई राजनीतिक आन्दोलनका रूपमा स्वीकार्दै राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा सरकार निर्माण भएपछि शान्ति सुरक्षा–सुरक्षासँग सम्बन्धित सबै उच्चस्तरीय आयोगका सिफारिसहरूको उचित कार्यान्वयन गर्ने ।’
नरसंहारका दोषीलाई राजनीतिक प्रतिशोध भनेर रविले सुनपानी छरेपछि त्यहीसभामा उनले माफीसमेत मागे । उनको भनाइ थियो –
‘विशेषगरी थरुहट आन्दोलन, थारु आन्दोलन र टीकापुर घटनालाई लिएर म सञ्चारकर्मी रहँदा मेरो सूचनाको दायरा आजजति फराकिलो थिएन । मेरो बुझाइको दायरा कम हुँदा मैले कहीँ–कतै मन दुखाएको छु भन्ने महसुस भएको छ । यो पावन तथा ऐतिहासिक दिनमा मन दुखेका सबैप्रति हृदयदेखि क्षमायाचना गर्न चाहन्छु, सिक्ने र समृद्ध हुने क्रममा म आफूलाई एउटा सिकाइरत नागरिक र राजनीतिककर्मीका रूपमा परिष्कृत पार्ने यात्रामा अघि बढेको छु ।
यी मात्र होइन, धेरै कमी–कमजोरी भएका छन् । तिनैले मलाई पाठ पढाएका छन्, ।’
टीकापुर हत्याकाण्ड जो ठूलो नरसंहारका रूपमा परिचित छ तिनका प्रमुख अभियुक्त लक्ष्मण थारुसहितका थरुहट नेताका बारे पहिले उनको मान्यता अर्कै थियो जसलाई उनले जघन्य अपराध भनेका छन् । २०७४ सालमा न्युज २४ च्यानलमा ‘सिधा कुरा जनतासँग कार्यक्रम चलाएको समयमा टीकापुर काण्डलाई त्यसबेलाको सरकारले ‘राजनीतिक घटना’को रूपमा मोड्न खोजेको भन्दै तीव्र निन्दा गरेका थिए । आज रास्वपामा प्रवेश गराएका यी सबैलाई उनले ‘जघन्य अपराधी’ र ‘दुई कौडीका गुण्डा’ भनेका थिए । रविले त्यसबेला उक्त टेलिभिजनमार्फत बोलेका उनका शब्दहरू :
‘पैसा, पावर र स्वार्थका लागि बाबुआमाले छोराछोरीलाई बेच्छन् नि, ठीक त्यस्तै टीकापुर घटनालाई सरकार र मन्त्रिपरिषद्ले राजनीतिक घटना भन्ने दुस्साहस गर्दैछ रे । सत्ता टिकाउन र भत्ता पचाउन गु र गोबर पनि चिन्न छोड्नुभयो कि क्या हो ? राजनीति र अपराधको परिभाषा थाहा छैन ? राष्ट्रसेवक प्रहरीलाई भाला रोपेर मुटु भेदन गरी वीभत्स हत्या गरियो । सत्य सेवा सुरक्षणम् भन्दै अहोरात्र जनताको जिउधनको सुरक्षा गर्न खटिएका आठ जना राष्ट्रसेवक मारिए ।
भाला रोपेर लखेटी–लखेटी तानेर निर्मम हत्या गरिएका राष्ट्रसेवकको विधवा पत्नी र टुहुरा सन्तानको आँखामा आँखा जुधाएर भन सरकार, टीकापुर घटना राजनीतिक घटना हो ? दुई/चार मुस्तन्डे र दुई कौडीका गुण्डा, राजनीतिक दलालहरूको रक्षा गर्न सिङ्गै सुरक्षा बलको मनोबल नगिराऊ सरकार । विदेशी दलाल र दुई कौडीका गुण्डाको रक्षा गर्न जरुरी छैन । राज्यसँग दम छैन भने भनोस्, न्याय प्रेमी जनताले कठालोमा समातेर दुई कौडीका गुण्डालाई अदालतमा उपस्थित गराइदिन्छन् । तर अपराधीलाई राजनीतिक आवरणमा छोपेर मधेस र टीकापुर घटनाका मुद्दाका दोषीको मुद्दा फिर्ता लिने निर्णयमा हस्ताक्षर गर्नुअगाडि तपाईँलाई सुरक्षा दिने राष्ट्रसेवक प्रहरीको आँखामा हेर्नुहोस् । तपाईँलाई २४ घण्टा सुरक्षित राख्ने राष्ट्रसेवकको मनोबल कति माथि हुनुपर्ला ?’
रविका प्रश्न रविलाई नै
जघन्य अपराधकर्मीहरूका बारे पहिले रविले सरकारसँग प्रश्न गरेका थिए । अहिले तिनै प्रश्न रविमाथि गरिँदैछ । घटना भने त्यही हो– जघण्य अपराध – नरसंहार ।
एकः अब राविमाथि तिनै प्रश्न– आफ्नो दल ठूलो बनाउन, बहुमत ल्याएर सत्ता चलाउन गु र गोबर पनि चिन्न छोड्नुभयोे ?
दुई: राजनीति के हो र अपराध के हो भन्ने छुट्याउन छाडनुभयो ? राष्ट्रसेवक प्रहरीलाई भाला रोपेर मुटु भेदन गरी वीभत्स हत्या गरिएको घटना कसरी बिर्सनुभयो ? सत्य सेवा सुरक्षणम् भन्दै अहोरात्र जनताको जिउधनको सुरक्षा गर्न खटिएका आठ जना राष्ट्रसेवक मारिएको घटनाका रचनाकारलाई कसरी राजनीतिक प्रतिशोध मान्नुभयो ?
तीन: भाला रोपेर लखेटी–लखेटी तानेर निर्मम हत्या गरिएका राष्ट्रसेवकको विधवा पत्नी र टुहुरा सन्तानको आँखामा आँखा जुधाएर भन्नोस् रास्वपाका सभापतिज्यू, टीकापुर घटना राजनीतिक प्रतिशोध भनेर रचनाकारलाई जोगाउनुपर्ने घटना हो ?
चार: दुई/चार मुस्तन्डे र दुई कौडीका गुण्डा, राजनीतिक दलालहरूको रक्षा गर्न रास्वपा भन्ने दल जन्मिएको हो ?
पाँच: अपराधीलाई राजनीतिक आवरणमा छोपेर मधेस र टीकापुर घटनाका मुद्दाका दोषीका मुद्दा फिर्ता लिनुनै रास्वपाले भनेको सुसंस्कृत राजनीतिको जग हो ?
सर्वोच्चको ठहर
टीकापुर घटनामा मारिएका प्रहरी परिवारले थारु आन्दोलनका नेता रेशम चौधरीलगायतविरूद्ध हत्या गरेको भन्दै जाहेरी दिए । उक्त जाहेरीमाथि प्रहरीले अनुसन्धान गरेपछि मुद्दा अदालतसम्म पुग्यो । जिल्ला अदालतले टीकापुर घटनामा संलग्न भन्दै रेशम चौधरीलाई कर्तव्य ज्यानसम्बन्धी मुद्दामा जन्मकैदको सजाय सुनाएपछि उनी पक्राउ परेका थिए । तत्कालीन सरकारले उक्त घटनालाई ‘राजनीतिक’ भन्दै मुद्दा फिर्ता लिएपछि यो मुद्दा सर्वोच्चमा ।
रविले माथि भनिएका शब्दमा सरकारलाई त्यसेला टेलिभिजनमार्फत जसरी गाली गरे त्यो सन्दर्भ यही ‘राजनीतिक’ भन्दै मुद्दा फिर्ता लिएपछिको प्रतिक्रिया हो ।
सर्वोच्चले उक्त घटनालाई ‘राजनीतिक नभएको’ भन्दै व्याख्या गरिदियो अर्थात् त्यसबेला रवि र सर्वोच्चको कुरा मिल्यो । सर्वोच्चले भनेको थियो–
‘लोकतन्त्रमा आफ्ना कुरा शान्तिपूर्ण र संगठितरूपमा राख्न पाइन्छ । तर त्यस्तो कार्यले शान्तिपूर्ण मार्ग छाडी जब हिंसाको सहारा लिन्छ, मुलुकको फौजदारी कानुनले आफ्नो बाटो पक्रिन्छ, कुनै पनि बहानामा हिंसामा सहभागी हुने, उक्साउने, दुरूत्साहन गर्ने, त्यसका लागि षड्यन्त्र गर्ने, योजना बनाउने वा अन्य कुनै तरिकाले सहभागी हुने कार्यलाई मुलुकको फौजदारी कानुनले सहँदैन । यसबारे सबै स्पष्ट हुनु जरुरी छ ।’
फौजदारी कानुन उल्लंघनको विषयलाई राजनीतिक सहमति, राजनीतिक स्वार्थ वा राजनीतिक प्रकृतिको अपराधका नाममा मुद्दा चलाउनै नमिल्ने भन्नु वा त्यसरी चलाइएका मुद्दालाई राजनीतिक सौदाबाजीको रणनीतिअन्तर्गत फिर्ता लिनु वा स्थापित मूल्य–मान्यता र कानुनी व्यवस्था समेतको उल्लंघन र उपहास हुने गरी माफी–मिनाहा दिने कार्य गर्नु मुलुकको संविधान, कानुन र न्यायका मान्य सिद्धान्तहरूको हाकाहाकी विपरीत देखिन्छ ।’
अवस्था कस्तो रह्यो भने सर्वोच्चको यस्तो फैसला आएकै बेला रविले ‘राज्यले, सरकारले र राजनीति गर्ने हरेक राजनीतिज्ञले जनतालाई आफ्ना छोराछोरीसरह सम्झ्न सक्नुपर्छ । पैसा, पावर र स्वार्थका लागि बाबु–आमाले आफ्ना छोराछोरी बेच्दछन् ? ठीक त्यस्तै, टीकापुर घटनालाई सरकार र मन्त्रिपरिषद्ले राजनीतिक घटना भन्दै दुस्साहस गर्दैछन् रे । सत्ता टिकाउन र भत्ता पचाउन गु र गोबर पनि चिन्न छाड्नुपर्यो कि क्या हो ? राजनीति र अपराधको परिभाषा थाहा छैन ?’ भनेका हुन् ।
यही घटनामा यिनै जघन्य अपराध गर्नेहरूसँग उनले राजनीतिक सम्झौता गरेर यो मुद्दालाई राजनीतिक जामा लगाइदिएका हुन् । ‘टीकापुर घटनालाई राजनीतिक आन्दोलनका रूपमा स्वीकार्दै राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा सरकार निर्माण भएपछि शान्ति सुरक्षा–सुरक्षासँग सम्बन्धित सबै उच्चस्तरीय आयोगका सिफारिसहरूको उचित कार्यान्वयन गर्ने’ भनेको त्यही होला ।
रविले त्यसबेला गरेको प्रश्न–सत्य, सेवा र सुरक्षण भन्दै अहोरात्र जनताको जीउधनको रक्षा गर्न खटिएका आठ जना राष्ट्रसेवक मारिए । भाला रोपेर, लखेटी लखेटी तानेर निर्मम हत्या गरिएका राष्ट्रसेवकका विधवा पत्नी र टुहुरा सन्तानको आँखामा आँखा जुधाएर भन सरकार —टीकापुर घटना राजनीतिक हो ? आमाको काखमा रमाउँदै दूध खाँदै गरेका अबोध बालकको मृत्यु हुँदा वेदनाले ढलेकी र बेहोस भएकी उनकी आमाको होस अझैसम्म राम्रोसँग खुलेको छैन, यी आमाको आँखामा आँखा जुधाएर भन सरकार—टीकापुर घटना राजनीतिक हो कि एउटा अमानवीय, हिंस्रक र जघन्य अपराध ? मा आज उनले नै उत्रर दिनुपर्ने भएको । उनी आफैंले भनून् घटना गलत हो कि रविको भनाइ । उत्तर आओस् ।