काठमाडौं । आगामी फागुन २१ गते गर्ने भनिएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको उम्मेदवारी दिन १० दिन पनि बाँकी नहुँदा नेपाली कांग्रेसभित्र आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । निर्वाचन आयोगले माघ ६ गते मंगलबार प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने मिति यसअघि नै सार्वजनिक गरिसकेको छ ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले विशेष नगरी आगामी २०८३ साल वैशाखमा नियमित महाधिवेशन गर्ने निर्णय गरेलगत्तै महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रत्यक्ष संलग्नतामा आइतबारदेखि काठमाडौंमा विशेष महाधिवेशन सुरु भएको छ । त्यसमा पार्टी सभापति शेरबहादुर देउवाका पूर्वविश्वासपात्रहरू नै सहभागी भएका छन् । आइतबार उद्घाटन भएको विशेष महाधिवेशनले नीति र नेतृत्व नै चयन गर्ने महामन्त्री थापाले उद्घाटनको क्रममा बताएपछि कांग्रेसको विवाद उत्कर्षमा पुगेको छ । यसले माघ ६ गतेसम्ममै कांग्रेसले के गर्छ भन्ने सबैतितर चासो बढेको छ ।
विशेष महाधिवेशनका लागि तयारी गरेका महामन्त्रीद्वयले केही दिनअगाडि राष्ट्रपति रामचन्द्र पौडेललाई भेट गरी निर्वाचनको मिति आगामी वैशाखसम्मका लागि सारिदिन पहल गर्न आग्रह गरेका थिए । तर, राष्ट्रपति पौडेलले यो काम प्रधानमन्त्रीबाट मात्र हुने बताएपछि उनीहरू विशेष महाधिवेशनमा लागेका हुन् । विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्दा समय लाग्ने भएको कारण निर्वाचनको मिति सार्न उनीहरूले पहल गरेका हुन् ।
अहिले विशेष महाधिवेशनको पक्षधरले प्रधानमन्त्री सुशीला कार्की र निर्वाचन आयोगसँग समेत छलफल गरेको स्रोतको दाबी छ । प्रधानमन्त्री कार्कीसँग भेट गरी निर्वाचनको मिति सार्न आग्रह गरेका समूहका नेताहरूले केही आश्वासन पाएकै कारण हौसियको देउवा पक्षको आशंका छ । प्रधानमन्त्रीबाट यस बारेमा कुनै प्रतिक्रिया नआए पनि निर्वाचन आयोगले भने कांग्रेसको विवादलाई नजिकबाट नियालिरहेको प्रतिक्रिया केही दिनअगाडि दिएको कारण विशेष महाधिवेशन पक्षधरले निर्वाचन आयोग र सरकारसँग छलफल गरिसकेको संकेत गरेको छ ।
कांग्रेसले समानुपातिकतर्फ उम्मेदवार उठाइसकेको छ । त्यसमा पार्टी सभापति शेरबहादुर देउवाको हस्ताक्षर छ । समानुपातिक उम्मेवदारी दर्ता गरेर प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गर्न नौ दिन मात्र बाँकी रहँदा कांग्रेसमा नयाँ सभापति चयन गर्ने र नयाँ नीति पनि नयाँ लिने भनेर विशेष महाधिवेशन हुँदा कांग्रेस कार्यकर्तामा मात्र नभई फागुन २१ मै निर्वाचन हुनेमा अन्योल बढेको हो ।
गगन–विश्वप्रकाश समूहले विशेष महाधिवेशन गरे पनि केन्द्रीय समिति बहुमत र बहुमत जिल्ला समितिहरू विशेष महाविधेशनको विपक्षमा छन् । उनीहरूले महाधिवेशनमा सहभागी जनाएका छैनन् । कतिपय मृत्यु भएका महाधिवेशन प्रतिनिधिको पनि हस्ताक्षर गराएको भनेर महामन्त्रीद्वयप्रति कांग्रेसभित्र आलोचना भइरहेको छ । यद्यपि आइतबार महाधिवेशनपक्षमा बहुमत पुगेको उनीहरूको जिकिर छ ।
विशेष महाधिवेशन जारी रहे पनि पार्टी सभापति देउवा पक्ष पनि कमजोर छैन । गगन–विश्वप्रकाश समूहले जबरजस्ती नेतृत्व परिवर्तन गर्न लागेमा देउवा पक्ष त्यसलाई पूर्णरूपमा स्वीकार गरेर जाने अवस्थामा छैन । त्यही भएर देउवा पक्षले विशेष महाधिवेशन बहिष्कार गरेको छ । गगन–विश्वप्रकाश समूहले काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशनको सभा गरिरहँदा सभापति देउवा भने आफ्नो पक्षसँग छलफलमै थिए । देउवा पक्ष सोमबारदेखि हुने बन्दसत्रमा जाने सम्भावना छैन । यसले कांग्रेसको विवादले नयाँ रुप लिने देखिन्छ । देउवा पक्ष महाधिवेशनमा सहभागी भए भने त्यसले विवादलाई मत्थर पारे पनि देउवा पक्षले बेवास्ता गरेमा विवाद पार्टी विभाजनसम्म पुग्ने पक्का छ ।
नेपाली कांग्रेसमा चार हजार सात सय ४३ जना महाधिवेशन प्रतिनिधि रहेकामा आइतबारसम्म दुई हजार छ सय ६२ जनाले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेको दाबी सार्वजनिक भएको छ । विशेष महाधिवेशनमा जाने सबैले नयाँ नेतृत्व चयनमा भने सहभागिता जनाउँछन् कि जनाउँदैनन् भन्ने कौतुहलता पनि बढेको छ । नेतृत्वलाई दबाब दिन तयार भए पनि नयाँ नेतृत्व अहिले नै चयन गर्दा पार्टी फुट्न सक्ने भन्दै केही प्रतिनिधिले भने यसलाई विधान महाधिवेशन मात्र बनाउनुपर्ने जिकिर गरेका छन् । विशेष महाधिवेशनमा सहभागी चन्द्र भण्डारीहरूले पनि पार्टी विभाजन हुन नदिने तर नीति बनाउने जिकिर शानिबार पत्रकार सम्मेलनमा गरेका थिए । तर, सोमबारबाट उनीहरूको आवाज के हुने थाहा छैन । तर, नयाँ नेतृत्व चयन भए पनि नभए पनि कांग्रेसभित्र विभाजनको बीउ भने रोपिएको छ । अब नयाँ नेतृत्व वा पुरानो नेतृत्व जहाँबाट प्रतिनिधिसभाको निर्वाचनमा भाग लिए पनि अन्तरघात हुनेमा कुनै शंका छैन । एउटा पक्षले उठाएको उम्मेदवारी अर्को पक्षले स्वीकार गर्ने सम्भावना कम छ । यसले कांग्रेस निर्वाचनको मुखमा चरम आन्तरिक द्वन्द्वमा फसेको प्रस्ट भएको छ । गगन–विश्वप्रकाश समूहलाई देउवा पक्षले कसैको उक्साहटमा पार्टी कब्जा गर्न लागेको आरोप लगाएका छन् भने उनीहरू भने आफूहरूले भन्दा पनि महाधिवेशनका प्रतिनिधिहरूले बोलाएको कारण आफूहरू महाधिवेशनमा सहभागी भएको जिकिर गरेका छन् । आइतबार उद्घाट समारोहमा महामन्त्री गगन थापाले पार्टी केन्द्रीय समितिले महाधिवेशन आयोजना गरेको भए सोमबारदेखि कसरी अगाडि बढ्ने आफूसँग कार्यतालिका हुने तर महाधिवेशन प्रतिनिधिले आयोजना गरेको कारण आफूसँग कार्यतालिका नभएको र त्यसले विचार मात्र परिवर्तन गर्ने कि विचार वा नेतृत्व दुवै परिवर्तन के गर्ने आफूहरू त्यसलाई स्वीकार गरेर अगाडि बढ्ने दाबी गरे ।