जनकपुरधाम । खानेपानी संस्थान जनकपुरधामको कार्यालयले नगरभित्र मागअनुसार खानेपानी वितरण तथा आपूर्ति गर्न सकेको छैन । यसबाट उपभोक्ता समस्यामा परेका छन् ।
संस्थानले दैनिक करिब ३५ लाख लिटर खानेपानी आपूर्ति गर्दै आएको छ । कार्यालयकोे आफ्नो पाइप लाइनमार्फत वितरण गर्ने खानेपानीबाट जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानीको पहुँचबाट बाहिर छन् । जनकपुरधाम नगरक्षेत्रमा दैनिक दुर्ई करोड ५० लाख लिटर पानीको माग छ । कार्यालयले अहिले २० प्रतिशत घरमा मात्र पाइपमार्फत खानेपानी आपूर्ति गर्दै आएको कार्यालय प्रमुख विष्णुदेव साहले बताए । राष्ट्रिय जनगणना–२०७८ को तथ्यांकअनुसार जनकपुरधाममा ४० हजार चार सय नौ परिवार रहेकामा करिब पाँच हजार घरमा खानेपानीको मिटर जडान गरिएको छ । जडान गरिएका मध्ये ४० प्रतिशत जति घरमा आंशिक रूपमा मात्र पानी आउने गरेको छ । जनकपुरधाममा घर परिवारको संख्या पनि बढ्दै गएको छ ।
अहिले कार्यालयले वडा नं १० तथा रामानन्द चोकमा निर्माण भएको चार लाख ५० हजार लिटर क्षमताको दुईवटा ओभरहेड ट्यांकीमा छ वटा डिपबोरिङबाट संकलित भूमिगत पानीलाई प्रशोधन गरी वितरण गरिरहेको कार्यालय प्रमुख साहले बताए । तर ३४ वर्ष पुरानो वितरण प्रणालीका कारण विभिन्न स्थानमा पाइप फुटेका, चर्केका तथा जीर्ण भएकाले पानी वितरणमा समस्या हुने गरेको उनको भनाइ छ । ‘सीमित बजेटका कारण पुरानो तथा जीर्ण पाइपबाट सबै वडामा खानेपानी आपूर्ति गर्न समस्या भएको छ’, प्रमुख साहले भने । जीर्ण पाइपका कारण ५० प्रतिशतमात्र नियमित रूपमा पानी आपूर्ति हुने गरेको छ । सो कार्यालयले गत आर्थिक वर्षमा कार्यालय हाताभित्र एक करोड ३० लाख रुपैयाँ मूल्यबराबरको लागतमा थप पाँच लाख लिटर क्षमताको ट्यांकी र चार करोड रुपैयाँभन्दा बढीको लागतमा मुजेलिया प्रहरी चौकीदेखि वडा नं ८ स्थित होटल सियाशरणसम्म छ लेन सडक किनारमा सात किलोमिटर लामो सडकको दायँबायाँ आठ–आठ इन्चको पाइप बिछ्याउने कार्य गरेको छ ।