काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–९ गोंगबु लक्ष्मीनगरबाट अवैध लागुऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ पाँच सय २० मिलिग्रामसहित दुई जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने झापा घर भएका २५ वर्षीय मन्दत राई र टोखा नगरपालिका–९ दिपज्योती बस्ने नवलपरासी पश्चिम घर भएका २९ वर्षीय प्रविण ज्ञवाली रहेका छन् । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले मन्दतको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिका–६ बौद्धबाट नियन्त्रित लागुऔषध फेनारगन एक हजार चार सय ८३ एम्पुल, डाईजेपाम एक हजार दुई सय ९३ एम्पुल र बुप्रेनोर्फिन एक हजार दुई सय ९३ एम्पुलसहित गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्ती बस्ने मकवानपुर घर भएका ४२ वर्षीय रामराज गिरीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौंको काठमाडौं महानगरपालिका–६ बाट नियन्त्रित लागुऔषध फेनारगन ८३ एम्पुल, डाईजेपाम ८५ एम्पुल, नोर्फिन १९ एम्पुल र बुप्रेनोर्फिन ६० एम्पुलसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका–६ बस्न ४१ वर्षीय पाण्डे भन्ने निर्मल लामा र ५१ वर्षीय घैटे भन्ने अर्जुन तामाङ रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी उनीहरूलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो ।
सुनसरीको कोशी गाउँपालिका–१ राजपोखरीबाट नियन्त्रित लागुऔषध ट्रामाडोल सात सय टयाब्लेटसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उदयपुर वेलका नगरपालिका–४ रामपुर बस्ने २७ वर्षीय सनम माझी र सोही नगरपालिका–९ बस्ने २२ वर्षीय अनुप क्षेत्री रहेका छन् । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरीको धरान उपमहानगरपालिका–१७ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल नौ हजार नौ सय १० ट्याब्लेटसहित कोशी गाउँपालिका–१ बस्ने २३ वर्षीय रोशन झा समेत २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलाय धरानबाट खटिएको प्रहरीले कालाबञ्जारबाट धरानतर्फ आउँदै गरेको को.१८ प ४२५६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
झापाको गौरीगंज गाउँपालिका–६ मुस्लिम टोल बस्ने २२ वर्षीय मोहमद रहिम मिँया समेत २ जनालाई ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ५ सय मिलिग्राम सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङको विराटनगर महानगरपालिका–१७ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ एक सय चार ग्रामसहित भारत बिहार अररिया खैरा खगरा–४ बस्ने १९ वर्षीय राजकुमार साह समेत तीन जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी समेतबाट खटिएको प्रहरीले बीआर ३८ एपी ९०४९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।