पटक–पटक भनेको सुनिन्छ पुरुष प्रधान समाज । यो भनाइमा धेरै सत्यता देखिन्छ । वास्तवमा महिला पछाडि परेका छन् र महिलालाई अगाडि ल्याउने केही प्रयास भए पनि ती नगन्य रुपमा देखिन्छन् । किन यस्तो हुन गयो भन्ने सन्दर्भलाई नियाल्ने हो भने महिला र पुरुषमा धेरै भिन्नता गरिँदै आएको हुनाले नै अहिले यो अवस्था आएको हो ।
गाउँघरमा पुरुषले भन्दा महिलाले धेरै काम गरेका हुन्छन् । उनीहरूलाई न दिन हुन्छ न रात । बिहानी हुन नपाउँदै अध्यारोमा उठेर घरको यावत्काम गर्नुपर्दछ उनीहरूले । नगर्ने भनेको कुनै कामै छैन र नसक्ने भनेको पनि हुँदैन । जसरी भने पनि उनीहरूले गरेकै हुन्छन् । सबथोक ती महिलाले नै गरेका हुन्छन् । खानपिन, सरसफाइ, बालबच्चाको हेरचाह, स्याहारसुसार सबै उनीहरूले नै गर्नुपर्दछ । यस अर्थमा भन्ने हो भने सृष्टिको सिर्जनादेखि यावत् कुरा सम्हाल्नु महिलाको लागि कम चुनौती होइन । पुरुष भने यी कुराबाट एकदम अलग भएको हुन्छ ।
नेपालमा मात्र होइन विश्वभरमा नै महिला दोस्रो नागरिकको दर्जामा रहेका देखिन्छन् । मुस्लिम देशहरूमा त झनै पीडामा रहेका छन् । कतिपय देशहरूमा त मताधिकारसमेत दिइएको हुँदैन । नेपालमा राजनीतिक अधिकार दिइएको भए पनि पूर्णता देखिँदैन । कानुनमा समानता भनिए पनि यथार्थमा त्यस्तो छैन । रोजगारीको कुरा गर्नुहोस्, श्रमको कुरा गर्नुहोस् वा शिक्षाकै कुरा गर्नुहोस्, कति धेरै विभेद गरिएको देखिन्छ । त्यस्तै गरेर पुरुषको तुलनामा महिलालाई रोजगारीमा सकभर स्वीकारिँदैन । श्रमको मूल्यमा पनि त्यत्तिकै विभेद गरिएको हुन्छ । एउटै काम महिलाले गर्दा थोरै ज्याला र त्यही काम पुरुषले गर्दा बढी ज्याला दिने कुरा गाउँघरमा मात्र होइन सहर बजारमा समेत रहिआएको पाइन्छ ।
जब कुनै बच्चीले यो धर्तीमा पाइला टेक्छे त्यसबेलादेखि नै उसका दुःखका दिन सुरु हुन थाल्छन् । आमाबाले छोराछोरीलाई फरक रुपमा नहेरे पनि समाजले फरक रुपमा हेरेको हुन्छ । छोरी जन्मिदा नराम्रो ठान्ने र छोरा जन्मिदा राम्रो ठान्ने परम्परा अधिकांश मुलुकमा पाइन्छ ।
स्वदेशदेखि विदेशसम्म नै महिलाका पीडा छताछुल्ल देखिन्छन् । अझ नेपालजस्ता अल्पविकसित देशहरूमा त कल्पनासम्म गर्न सकिँदैन । कुनै एक जमघटमा एकजना स्वास्थ्यकर्मीले सुनाएका घटनाले सबैको शरीर सिरिङ्ग हुन गयो । घटना बागलुङ जिल्लाको थियो । कुनै महिलालाई प्रसववेदनाले लामो समयसम्म दुःख दिएछ । बच्चा निकाल्न अनेक उपाय गरेछन् । धामी, झाँक्री, फुकफाँक आदि आदि । केही गर्दा पनि बच्चा पैदा भएनछ । घरेलु उपायले केही नभएपछि एक डेढ घण्टा पर स्वास्थ्यकर्मी लिन मानिस गएछन् । यकातिर प्रसववेदनाले ती महिला छटपटाई रहेकी थिइन् भने अर्कातिर लामो बाटो भएको कारणले गर्दा ती स्वास्थ्यकर्मी आउन केही ढिला भएछ । स्वास्थ्यकर्मीको टोली आइपुग्दा त ती महिलाले एउटा बच्चा जन्माइसकेकी रहिछिन् । साल तुर्लुङ्ग बाहिर निस्किएको रहेछ । त्यो सालभित्र गयो भने बाहिर निस्कने सम्भावना न्यून भएकोले साललाई काठको लौरामा दाम्लो बाटेको जस्तो बटारे जस्तै गरेर राखेकी रहिछिन्, ताकि फेरि भित्र पस्न नसकोस् । जन्मिएको बच्चा भने आफूभन्दा केही पर त्यसै पल्टाइ दिएकी रहिछिन् । स्वास्थ्यकर्मीको नेतृत्व गरेका शेषकान्त खरेल त्यहाँ पुग्दा त टोली नै अचम्म भएछ । त्यो दृश्य यति दर्दनाक र विभत्स रहेछ कि जसको आँखाबाट पनि आँशु झरेकै देखिन्थ्यो । त्यो दृश्यले सबैको मन रोएछ । नरमाइलो लागेछ । टोलीको मन आत्तिएछ । कसरी ती महिलाको ज्यान बचाउने भनेर । प्रसववेदनाले छटपटाई रहेकी ती महिलाको जाँचबुझ गरेछन् । कति कष्ट गरेर एउटा बच्चा निस्किएपछि पनि अर्को बच्चा पेटमै रहेको चिकित्सकहरूले पत्ता लगाएछन् । पेटमा भएको बच्चा मरेको हुनाले सहज रूपले बाहिर निकाल्ने अवस्था रहेनछ । स्वास्थ्य टोलीको अथक प्रयासबाट पेटमा मरेको बच्चा निकाल्न सफल भएछ टोली । मुख्य कुरो मृत्युको मुखमा परेकी आमालाई बचाउन सफल भएकोमा टोली निकै खुसी भएछ । यो स्वभाविक पनि थियो किनभने मृत्युको एकदम नजिक पुगेकी ती महिलालाई बचाउन सकेकोमा स्वास्थ्य टोली खुसी हुनु स्वाभाविक नै थियो ।
ती सुत्केरी महिलाको घरको अवस्था आफैँ भनिरहेको थियो कि कति गरिब थिए । सानो छाप्रो । दुई तीनवटा बाख्रा । एक दुई सुर्का जग्गा । त्यहीँ एउटा सानो फुसको घर । निन्याउरो अनुहार । रोगले सताएको चेहरा । वरिपरि कुनै घर नभएकोले शान्त वातावरण ।
त्यो वातावरणले आफैं भन्थ्यो कि त्योभन्दा दुःख र कष्ट अरु कुनै हुनै सक्दैन । यदि गरिबीको कुनै सीमा हुन्छ भने त्यो नै अन्तिम थियो । त्यो स्वास्थ्य टोली नितान्त निजी थियो । व्यवसायिक थियो । यद्यपि उनीहरूले निस्वाथ्र्य मानवीय भावनाले ती महिलाको उद्धार गरेछन् । र, एउटी महिलाको जीवन बचाइदिएछन् ।
टोलीले पारिश्रमिकको कुनै कुरै उठाएनछन् । उठाएको भए पनि उनीहरूले दिन सक्ने अवस्था नै थिएन । त्यसपछि टोली यति खुसी भएछ कि पारिश्रमिक बारे उनीहरूको सोच नै हराएछ । टोलीलाई थाहा थियो कि सुत्केरीलाई खुवाउने कुनै अन्नपात थिएन । पौष्टिक आहारको त कुरै नगरौँ । यो एउटा प्रतिनिधिमुलक घटना हो । यस्ता अनगिन्ति घटना देशका कुनाकाप्चामा अहिले पनि घटेका देखिन्छन् । त्यहाँ न सरकारको उपस्थिति छ न राज्य नै पुगेको छ । देश भनेको नै सहर बजार र राजधानी मात्र हो भन्ने सोचाइ रहेको देखिन्छ । कहिले ती दीनदुःखीले गरिब महिलाको अवस्थामा सुधार आउला र ! यहाँ यस्तै अर्को एउटा सन्दर्भ जोड्नु उपयुक्त हुनेछ । एकजना विद्यार्थीले मलाई भनेका कुरा अहिले पनि मलाई सम्झना छ ।
उनले भनेका थिए – पुरुष भएर जन्मिन पाउन त भाग्य नै रहेछ ।
मैले प्रश्न गरेँ – किन ?
विद्यार्थी – महिलालाई बच्चा जन्माउन कति पीडा हुँदो रहेछ नि । कतिपय आमाहरूको मृत्यु हुन्छ । कतिपय आमाहरू जीवन भर कमजोर भएका हुन्छन् । कतिपय आमाहरू सधैँको लागि अपांग भएका हुन्छन् । कतिपय आमाहरूको जीवन नै बर्बाद भएको हुन्छ । यी कुराबाट पुरुष त मुक्त भएको हुन्छ नी ।
म – यो स्वाभाविक हो । तर पनि पुरुषले महिलाको दुःख र पीडा बुझ्न नसक्नुलाई ठूलो कमजोरी मान्नुपर्दछ । प्रकृति प्रदत्त विषयमा हामीले केही गर्न नसकिएला तर महिलाको दुःख, पीडा, दर्दजस्ता कुरामा कमी ल्याउन नसकिने होइन । यसमा पुरुषका निकै कमी कमजोरीे निश्चय नै देखिन्छन् ।
विद्यार्थी – स्वाभाविक हुन सक्छ तर हामीहरूले उनीहरूको पीडा त बुझेका छैनौ नी ! नौ महिनासम्म पेटमा जतनसाथ राख्नु । बाहिर बसेर भित्रको बच्चाको हेरचाह गर्नु निकै कठिन हो नी । बच्चा जन्माउन झनै कठिन हो । कतिपय आमाहरूको बच्चा नजन्मिएर मृत्युसमेत भएको हुन्छ । अनि स्वाभाविक भनेर के गर्ने ? मृत्यु निम्त्याउन सक्ने विषयलाई ।
ती विद्यार्थीको भनाई यथार्थ नै थियो । उनकोे भनाइले मलाई दुःखित बनायो । मैले जवाफ नै दिन सकिन । यी सबै कुरा हामी सबैले बुझि आएका छौँ । तैपनि महिलाको अवस्थामा सुधार गर्नेतर्फ कसैको ध्यान जान सकेको छैन । बच्चा जन्माउन ज्यानै जोखिममा पार्नुपर्ने र घरको सबै व्यवस्था ती एउटी महिलाले मिलाउनुपर्ने कस्तो पक्षपाती हाम्रो समाज ! आफू पीडामा डुबेर पनि अरुलाई खुसी पार्ने धन्न ती महिला ! न पुरुषले बुझ्छ ! न घर परिवारले बुझ्छ ! न समाजले बुझ्छ ! न सरकार न राज्यले नै बुझ्न सकेको छ महिलाका ती पीडा ! । अब तपाईँ हामी नै विचार गरौँ– कसले बुझ्छ त महिलाका पीडा ?