काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको २३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाको सञ्चालक समितिका अध्यक्ष डा. सुमित्रा मानन्धर गुरुङको अध्यक्षतामा वार्षिक साधारणसभा सम्पन्न भएको हो ।
सभाले सेयरधनीलाई १४ दशमलव २५ प्रतिशत बोनस र शून्य दशमलव ७५ प्रतिशत नगद गरी १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ मा ३५ करोड ९७ लाख ८३ हजार आठ सय ५६ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । साधारण सभाले आव २०८०/८१ को वासलात, नाफा–नोक्सान हिसाबलगायत अन्य वित्तीय विवरण समेत पारित गरेको छ ।
चालु आवको असोज मसान्तसम्म ६१ जिल्लाका एक सय ४५ शाखा र उपशाखा कार्यालय तथा नौ वटा इलाका कार्यालयमार्फत दुई लाख ६१ हजार सात सय ४५ महिला ग्राहक सदस्यहरूलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । सो अवधिमा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जा रकम २१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ पुगेको छ । यसैगरी सदस्यको बचत यस अवधिसम्ममा १४ अर्ब ३९ करोड १९ लाख रुपैयाँ रहेको छ ।