काठमाडौं । नेपाल कृषि सहकारी केन्द्रीय संघको पाँचौँ अधिवेशनबाट एकराज उप्रेतीको नेतृत्वमा १५ सदस्य रहेको नयाँ कार्यसमिति चयन भएको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा पूर्ण शर्मा महिला उपाध्यक्षमा मीना कुमारी ढकाल र सिचवमा चिरञ्जिवी केसी निर्वाचित भएका छन् ।
यस अघि १५ सदस्य सञ्चालक समितिका लागि सात प्रदेशबाट एक एक जना निर्वाचित हुने व्यवस्था अनुसार बागमतीबाट एकराज उप्रेती, गण्डकीबाट कृष्ण वावु श्रेष्ठ, लुम्बिनीबाट पूर्ण शर्मा र सुदूरपश्चिमबाट धर्म कुँवर निर्विरोध निर्वाचित भएका थिए । यसैगरी प्रदेशको प्रतिनिधित्वअर्न्तगत कोशी, मधेश र कर्णालीमा निर्वाचन भएको थियो । कोशीबाट इन्दिरा निरौला ४५ मत सहित विजयी भएका छन् । कोशीमा उनका प्रतिद्वन्दी खगेन्द्रराज भण्डारीले ४१ मत प्राप्त गर्नुभएको थियो । यसैगरी मधेस प्रदेशमा मिश्रलाल सहनी ५६ मतसहित विजयी भए । मधेस प्रदेशका अन्य उमेदवार राम सोभित यादवले २०, दिपेन्द्र कुमार यादवले १२, राम चन्द्र यादवले पाँच र शम्भु नाथ यादवले तीन मत प्राप्त गरेका थिए । यसैगरी कर्णाली प्रदेशमा २८ मतका साथ धर्मराज थापा निर्वाचित भए । उनका प्रतिद्वन्दी चाँदनी ढकालले २६ मत प्राप्त गरेकी थिइन् ।
यसैगरी खुल्ला सञ्चालकमा चिरञ्जीवी केसी तीन सय ७७, सुखदेव न्यौपाने तीन सय ६२, हरी बहादुर बस्नेत तीन सय ३५, हरी बहादुर अधिकारी तीन सय २५ मत प्राप्त गरी विजयी भए । अन्य उम्मेदवार सुमन नेपाल दुई सय २१ र नारायण प्रसाद खनालले दुई सय ४१ मतप्राप्त गरेका थिए । यसैगरी महिला सञ्चालकमा गीता केसी चार सय १५, मीना कुमारी ढकाल चार सय एक, देवकी कुमारी भण्डारी तीन सय २३ र गोमा देवी आचार्य दुई सय ५७ मत प्राप्त गरी विजयी भएका छन् । यसैगरी उहाँका प्रतिस्पर्धी झुपा पाण्डेले दुई सय १३, नयन कला खड्काले एक सय २० र कमला कुमारी रिमालले एक सय ५६ मत प्राप्त गरेका छन् ।
चार वर्षे कार्याकालका लागि निर्वाचित १५ जना सञ्चालकलाई प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता पोषणराज लामिछानेले पद तथा गोपनियताको शपथग्रहण गराएका थिए । केन्द्रीय संघको सञ्जालमा अहिले एक हजार एक सय ५१ सदस्य संस्था रहेका छन् । संघले ७७ जिल्लामा आफ्नो कार्य क्षेत्र विस्तार गरी नौ लाख घर परिवारका सदस्य किसानहरुलाई सेवा प्रवाह गर्दै आएको छ ।