काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडले साधारण सेयर बिक्रीको आह्वान गरेको छ । कम्पनीले यही माघ छ गतेबाट पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि साधारण सेयरको बिक्री खुल्ला गर्न लागेको हो ।
कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ३२ करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता साधारण सेयर जारी गर्नको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । सो मध्ये पहिलो चरणमा आयोजना प्रभावितको लागि नौ करोड ८० लाख रुपैयाँ बराबरको नौ लाख ८० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दुई करोड २२ लाख रुपैयाँ बराबरको दुई लाख २२ हजार कित्ता साधारण सेयर बिक्री गर्न लागेको हो । आयोजना प्रभावितलाई छुट्याइएको साधारण सेयरमा बाग्लुङको बडिगाड गाउँपालिकाको वडा नं. १ देखि १० सम्मका सबै वडाहरू (साविक दगातुन्डाँडा, सीसाखानी, जलजला, ग्वालीचौर, भीमगिठे, रणसिंहकिटेनी, र दर्लिङ गाविसका सबै वडाहरू) र आयोजनाको विद्युत् प्रसारण लाइनबाट प्रभावित क्षेत्र बाग्लुङको ढोरपाटन नगरपालिका वडा नं. २ (साविक बुर्तिवाङ गाविसको वडा नं. २,३,४ र ५) का स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन् ।
कम्पनीका अनुसार साधारण सेयर खरिदको लागि आवेदन दिँदा न्यूनतम १० कित्ताका लागि र बढीमा १० हजार कित्तासम्म माग गर्न सक्नेछन् । वैदेशिक रोजगारीमा रहेकाको निष्कासन बन्द छिटोमा माघ नौ गते र ढिलोमा माघ २० गते हुनेछ । यसैगरी आयोजना प्रभावितको छिटोमा माघ २० गते र ढिलोमा फागुन आठ गते निष्कासन बन्द हुनेछ । कमपनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । आयोजना प्रभावितले ग्लोबल आईएमई बैंकको नक्साल, बुर्तिवाङ, बाग्लुङ बजार शाखा कार्यालय, प्रभु बैंकको बडिगाड–५, ग्वालीचौर शाखा, गरिमा विकास बैंक र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको बुतिर्वाङ शाखा कार्यालयमा साधारण सेयरको खरिदको फारम पाउने कम्पनीले जानकारी दिएको छ ।