पोखरा । रैथाने कला र संस्कृतिको संरक्षण गर्न महोत्सव हुने भएको छ । ‘युवाको जाँगर राष्ट्र निर्माणको आधार’ नाराका साथ मङ्गलबारदेखि १४औँ संस्करणको पोखरा महोत्सव हुने भएको हो ।
स्थानीय कला, संस्कृति र वेशभूषाको संरक्षण, सूचना प्रविधि एवं औद्योगिक तथा हस्तकलाका सामग्री प्रदर्शनी र बिक्री गर्ने उद्देश्य लिएर युनाइटेड क्लब पोखरा–१० ले माघ ११ गतेसम्म महोत्सव गर्न लागेको जानकारी दिएको छ । महोत्सवको मुनाफाबाट क्लबले वार्षिक रुपमा शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटन प्रवर्द्धनमा खर्च गर्दै आएको छ । पोखरामा चिडियाखानाको अवधारणासमेत क्लबले ल्याएको आईतबार पत्रकार सम्मेलन गरि अध्यक्ष लोकबहादुर थापाले जानकारी दिए । महोत्सवको मुनाफाबाट क्लबले पोखरा र आसपासका क्षेत्रमा रहेका २० वटा सामुदायिक विद्यालयमा छात्रवृत्ति अक्षयकोष स्थापना गरी विपन्न वर्गका विद्यार्थीलाई छात्रवृत्ति दिने गरेको छ । साथै ग्रामीण क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको अध्यक्ष थापाले बताए । त्यस्तै क्लबले खेलकुद प्रतियोगिता आयोजना तथा पर्यटन प्रवर्द्धन गर्दै आएको छ भने पोखराको लेखनाथस्थित पचभैयामा खुला चिडियाखानाको अवधारणा तथा निर्माणको पहल गर्नेछ । साथै पोखराको सेतीनदीको खोँचको छेउमा तारजाली लगाउने र हालै पोखराको लेखनाथस्थित अर्चलेमा ६० लाख रुपैयाँको लागतमा आर्थिक विपन्न परिवारका बालबालिकालाई लक्षित गरी युनाइटेड छात्रावास निर्माण भइरहेको पनि उनले जानकारी दिए ।
दुई हप्ता चल्ने उक्त महोत्सवबाट एक करोड ५१ लाख रुपैयाँभन्दा बढी आम्दानी र खर्च एक करोड २३ लाख रुपैयाँ तथा मुनाफा २८ लाख रुपैयाँ हुने अनुमान गरिएको छ । दुई सय ५० कक्ष रहने उक्त महोत्सवको दुई लाखभन्दा बढीले अवलोकन गर्ने अनुमान आयोजक संस्थाले गरेको छ ।
पोखरामा सूचना–प्रविधि र ‘स्टार्ट–अप’ मेला हुने
गण्डकी प्रदेशको राजधानी पोखरामा सूचना–प्रविधि तथा ‘स्टार्ट–अप’ व्यवसाय प्रदर्शनी हुने भएको छ । नवप्रवर्तनमार्फत रोजगारी सृजना र बेरोजगारी अन्त्यका लागि युवापुस्ताका उद्यमीबाट उत्पादित प्रविधि तथा व्यवसाय प्रदर्शनका लागि मेला आयोजना गर्न लागिएको हो ।
नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय युवा परिषद्ले पोखरा उद्योग वाणिज्य सङ्घसँगको सहकार्यमा आगामी माघ अन्तिम साता प्रदर्शनी आयोजना गर्दैछ । मेलामा गण्डकी प्रदेशभित्रबाट छानिएका १५ नवीन सोचमा आधारित उद्यम, वस्तु तथा सेवा वा प्रक्रियामा नवप्रवर्तनसँग सम्बन्धित व्यवसायको प्रदर्शनी गरिनेछ । सो प्रदर्शनी प्रतिस्पर्धात्मक हुने र पहिलो हुनेले ४० हजार रुपैयाँ, द्वितीयले ३० हजार रुपैयाँ र तृतीय हुनेले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने राष्ट्रिय युवा परिषद्का प्रशासकीय प्रमुख गेहनाथ गौतमले जानकारी दिए ।
‘प्रदर्शनीमा सहभागी हुन चाहनेले अनलाइन फाराम भर्नुपर्नेछ । तीमध्ये छानिएकालाई मेलामा सहभागी गराइने, आवेदकको उमेर ४० वर्ष ननाघेको, उद्योग/व्यवसाय सञ्चालन गरेको १० वर्षभन्दा बढी नभएको तथा सरकारी कार्यालयमा दर्ता भएको एवं वार्षिक कारोबार १५ करोड रुपैयाँभन्दा बढी नभएको हुनुपर्नेछ’, उनले भने । पोखराबाट सुरु गरिने यो प्रदर्शनी देशका सातवटै प्रदेशमा आयोजना गरिने छ भने अन्तिममा काठमाडौंमा हुने बृहत् प्रतिस्पर्धात्मक प्रदर्शनीमा समेत प्रदेशमा उत्कृष्ट रहेकालाई सामेल गरिने परिषद्ले जनाएको छ ।
प्रदर्शनीको तयारीको सन्दर्भमा युवा परिषद्ले पोखरामा अभिमुखीकरण कार्यक्रमसमेत सम्पन्न गरेको छ । कास्कीसहित स्याङ्जा, बागलुङ, तनहुँ र पर्वतका उद्योगी÷व्यवसायीको सहभागिता रहेको सो अभिमुखीकरण कार्यक्रममा उद्यमशीलता विकास विज्ञ इन्जिनियर रमेश सुवेदीले नवप्रवर्तनमार्फत रोजगारी सृजना र युवा पलायन रोक्नका लागि मेला आयोजना गरिएको बताए । पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले युवापुस्ताको पलायन रोकियोेस्, देशमै रोजगारी सृजना होस् भन्ने निजी क्षेत्रको चाहना रहेको बताए । ‘गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा उद्योगी÷व्यवसायीमाथि भएको आक्रमणका कारण निजी क्षेत्र हतोत्साही बनेको अवस्थामा यस्ता प्रदर्शनीले युवापुस्तालाई प्रोत्साहित गर्नेछ’, उनले भने ।
पोखरा महानगरपालिकाको व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख नवराज अधिकारीले उद्यमशीलता विकासका निम्ति पोखरा महानगरपालिकाले चालेका कदमबारे जानकारी दिँदै युवा परिषद्ले आयोजना गर्ने कार्यक्रमले नयाँ सोचको विकास गराउने बताए । युवा परिषद्का उपसचिव तारापति खरेलले निजी क्षेत्र र खासगरी युवालाई सृजनात्मक व्यवसायमा सामेल गराउन मेला आयोजना गर्न लागेको बताए ।