काठमाडौँ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्तका कर्मचारीमाथि लुटपाटको घटना भएको छ । आइतबार संस्थाको शाखा कार्यालय ईश्वरपुर, सर्लाहीमा कार्यरत कर्मचारी पूजा सरदार र शान्ति सरदारमाथि मोटरसाइकलमा आएका अपरिचित व्यक्तिले कटुवा पेस्तोल देखाई उनीहरूको साथबाट नगद लुटपाट गरी भागेको संस्थाले जनाएको छ ।
दुई कर्मचारी लालबन्दी नगरपालिका वडा नं. ३, जब्धीमा नियमित बस्ने केन्द्र बैठक सञ्चालन गरी कार्यालयतर्फ फर्किने क्रममा हरिपुर जाने सडकको पोखरीटोल सडक खण्डमा उक्त घटना भएको संस्थाले बताएको हो । घटनामा केन्द्र बैठकमा संकलित एक लाख चौरासी हजार सात सय पाँच रुपैयाँ नगदसहित उनीहरूको साथमा रहेको कार्यालय प्रयोजनका कागजातसहितकोे झोला लुटेर पूर्वदिशातर्फ फरार भएको बुझिएको छ । घटनाका सम्बन्धमा तत्कालै इलाका प्रहरी कार्यालय बयलबासमा जानकारी दिई खोजतलास भएको र भोलीपल्ट लिखित उजुरी दिएको संस्थाले जानकारी दिएको हो ।
प्रहरी प्रशासनले घटनाको विषयमा पीडित कर्मचारी, शाखाका कर्मचारी र स्थानियहरूसँग सोधपुछ गरी जानकारी लिएको र घटना भएको बाटोमा रहेका सी.सी. क्यामेराहरूको चेकजाँच गर्नुका साथै शंकास्पद व्यक्तिहरूको निगरानी भइरहेको जानकारीे दिएको छ ।