नारायणगढ (चितवन) । महानगर प्रमुख रेणु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले देशको सबैभन्दा लामो महानगरस्तरीय बृहत् चक्रपथ भरतपुर महानगरपालिकाका विभिन्न वडाहरू जोड्ने नेसनल हाइवे भरतपुर–९ स्थित गोन्द्राङको जिरो किलोमिटरबाट मंगलबार एक कार्यक्रमबीच उद्घाटन गरेका छन् ।
सात वर्षअघि स्थानीय सरकार गठनपछि गौरवको आयोजनाका रूपमा अघि बढाइएको ८८ दशमलव छ किलोमिटर लामो चक्रपथ निर्माणकार्य सुरु गरिएको थियो । केही स्थानमा कालोपत्र तथा अलाइनमेन्ट मिलाउने काम बाँकी रहे पनि अन्य खण्डमा सडक निर्माण पूरा भएको भैसकेको छ ।
उद्घाटन कार्यक्रममा स्थानीय तह आएपछि भरतपुरमा उल्लेखनीय विकासकार्य भएको महानगर प्रमुख दाहालले बताइन् । उनले भनिन, “महानगरपालिकाको गौरवको प्राथमिकताप्राप्त योजनाका रूपमा हामीले यसलाई अघि बढाएका हौँ, देशकै सबैभन्दा लामो महानगरस्तरीय ‘रिङरोड’ अहिले राष्ट्रिय राजमार्ग (एनएच)का रूपमा विकास भएको छ ।” उनले केन्द्रीय सडकका रूपमा सूचीकृत भएसँगै अब यस सडकलाई केन्द्र सरकारले समेत प्राथमिकतामा राखेर हेर्ने बताइनु ।
सडक पूर्ण रूपमा पक्की भइसकेको उल्लेख गर्दै उनले कतिपय स्थानमा व्यवस्थापनका काम बाँकी रहेको बताइन् । उनले अरबौँ रुपैयाँको लगानीमा सङ्घीय, प्रदेश र स्थानीय सरकारको सहकार्यमा यो सडक निर्माण गरिएको जानकारी दिइन् । सडकको मापदण्ड ३० मिटर कायम गर्ने महानगरपालिकाको निर्णय रहेको र वडाबाट आएका सुझावका आधारमा छलफल गरी व्यावहारिक ढङ्गले काम अघि बढाइएको उनले बताइन् ।
प्रमुख दाहालले भरतपुरमा भौतिक विकासले फड्को मारेको उल्लेख गर्दै आगामी दिनमा यस सडकलाई स्तरोन्नति गरी दुई लेनमा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले अब महानगरले सामाजिक विकास र रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्ने पनि बताइन् ।
कार्यक्रममा नगर उपप्रमुख चित्रसेन अधिकारीले भौतिक र सामाजिक विकासलाई सँगसँगै अघि बढाउन महानगरपालिका निरन्तर लागिपरेको जानकारी गराउँदै भरतपुरको समग्र विकासमा चक्रपथले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय, प्रदेश र स्थानीय तहको लगानीमा निर्माण भएको रिङरोडको शिलान्यास २०७५ साल असार २९ गते नारायणगढको पुलचोकमा गरेका थिए ।