अदानचुली (हुम्ला) । अत्यधिक जाडो (चिसो)का कारण हिल्सास्थित यारी नाका भन्सार कार्यालय तीन महिनाका लागि बन्द गरिएको छ । हिल्सामा रहेको चीनको ताक्लाकोटबाट व्यापारी र अन्य सामग्रीको आयात रोकिएर कारोबार नभएपछि तीन महिनाका लागि भन्सार कार्यालय बन्द गरिएको हो ।
चीनको ताक्लाकोटबाट यही पुसबाटै व्यापारी र सामानहरु आयात हुन छोडेपछि पुसको दोस्रो हप्ताबाट यारी नाका भन्सार कार्यालय बन्द गरेर कर्मचारी सदरमुकाम सिमकोटको सम्पर्क कार्यालयमा आइपुगेका कार्यालयका प्रमुख रामराज जैसीले बताए ।
चीनको ताक्लकोटबाट सामानहरु आयात हुन छाडेपछि भन्सार विभागसँगको समन्वयमा कार्यालय बन्द गरेर आफूहरु जिल्ला सदरमुकाम सिमकोट झरेको प्रमुख जैसीले जानकारी दिए ।
यस वर्ष हिमपात नभए पनि गएको गत कात्तिकमा परेको हिउँले नारा सडकखण्ड बरफ जमेर सडक अवरुद्ध गरेपछि यातायात सेवासमेत बन्द भएको छ । यसैकारण चीनको ताक्लाकोटबाट सामानहरु आयात हुनसमेत छोडेको प्रमुख जैसीले बताए । कारोबार नहुने भएपछि कर्मचारी हिल्सामा कार्यालय कुर्नुभन्दा सदरमुकाम सिमकोटको सम्पर्क कार्यालयमा झरेका हुन् ।
भन्सार कार्यालयका प्रमुख जैसीले चीन तर्फको नाकालाई खुल्लै राखेको बताए । उनका अनुसार आगामी चैत दोस्रो हप्ता कर्मचारी यारी नाका भन्सार कार्यालयमा फिर्ता भएपछि पुनः नाका सञ्चालनमा आउने छ । यारी नाका भन्सार कार्यालयले गत साउन महिना यता १८ लाख ६५ हजार राजस्व असुली गरेर गत वर्षको भन्दा यस वर्ष दोब्बर राजस्व उठाएको उनले बताए ।