काठमाडौँ । चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवस तथा बृहत् रैथाने कृषि मेला आयोजना हुने भएको छ । मेला प्रचारप्रसार समितिले मंगलबार पत्रकार सम्मेलन गरी यही माघ १ गते नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र र रैथाने एग्री प्रडक्ट्स नेपालले संयुक्त रूपमा मेला आयोजना गर्न लागेको जानकारी दिएको हो ।
मेलाका प्रचारप्रसार समिति संयोजक रामबहादुर चौहानले ‘कृषि जैविक विविधता, हाम्रो अमूल्य सम्पदा संरक्षण, उपयोग र प्रवद्र्धनमा युवा सहभागिता’ भन्ने मूल नाराका साथ माघे सङ्क्रान्तिका दिन भृकुटीमण्डपस्थित बगैँचा परिसरमा मेला सञ्चालन हुने जानकारी दिए । कृषि जैविक विविधताको महत्व, संरक्षण र दिगो उपयोगमा जनचेतना फैलाउने र विशेष गरी युवाहरूलाई सक्रिय रूपमा सहभागी गराउने उद्देश्यले मेला आयोजना गर्न लागिएको उनले बताए । मेलामा रैथाने बीउबिजन, परम्परागत कृषि प्रविधि, मौलिक खाना र प्रदेशस्तरीय खाद्य परिकारको प्रदर्शन, परम्परागत कृषि उपकरण, सांस्कृतिक झाँकी, नृत्य, गीत र कविता प्रस्तुति र रैथाने स्वाद, संस्कृति तथा ग्रामीण पर्यटनसँग सम्बन्धित जानकारी एवं परामर्श प्रदान गरिने छ ।
यसैगरी पुरानो रैथाने ज्ञान र सीपलाई नयाँ पुस्तामा हस्तान्तरण गर्दै कृषिमा युवाको आकर्षण बढाउने, रैथाने उत्पादनको व्यवसायीकरण गरी खाद्य सुरक्षा र स्वस्थ जीवनका लागि ‘आफ्नै माटोको उत्पादन’ उपभोग गर्न नेपालीहरूलाई प्रोत्साहित गर्न मेलाले टेवा पुग्ने विश्वास गरिएको छ । मेलाबाट कृषि जैविक विविधता र रैथाने बीउबिजन संरक्षण तथा व्यवसायीकरणमा सहभागीहरूको प्रतिबद्धता समेटेर घोषणापत्र पनि जारी गरिने प्रचारप्रसार संयोजक चौहानले बताए । सरकारले हरेक वर्ष माघ १ गते ‘राष्ट्रिय कृषि जैविक विविधता दिवस’ मनाउँदै आएको छ ।